१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भयावह बन्दै लम्पी, मर्ने पशुको संख्या ५० हजार नाघ्यो



काठमाडौँ
लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ । ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन् । तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका हन् । २ लाख ४८ हजार ३ सय ५ पशु अझै सक्रिय संक्रमणमै रहेको विभागले जनाएको छ ।

‘यही अवस्था रहे मर्ने पशुको संख्या एक लाख बढी पुग्ने देखिन्छ । यसले अर्बौं रुपैयाँको नोक्सानी भएको छ,’ नेपाल पशु चिकित्सा परिषद्का निमित्त रजिस्ट्रार मनोजकुमार शाहीले भने, ‘मुलुकभर फैलिइसकेको छ । अब तत्काल महामारी घोषणा गरेर राहतको प्याकेज ल्याउन जरुरी छ ।’ विवरणअनुसार ९ दिनमै थप ३४ हजार ६ सय ९४ पशु संक्रमित भएका छन् । यस अवधिमा २६ सय ९३ पशु मरेको विभागले जनाएको छ । रोगबारे सरकारले लापरबाही गर्दा संक्रमण दर भयानक बनेको जानकार बताउँछन् । करिब ३ वर्षअघि नै देखिएको रोगबारे सरकारले पूर्वतयारी नगर्दा अहिले अवस्था जटिल बनेको हो ।

‘लम्पी पहिलो पटक ०७७ असारमै देखिएको थियो । ०७७ र ०७८ ९दुई वर्षमा० १६ जिल्लाका २९ पालिकामा फैलिएको रोगबाट २ वर्षमा ३ हजार ३ सय १ पशु संक्रमित भई १३ पशु मरेको विभागको तथ्यांक छ,’ कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘तर सरकारले पूर्वतयारी नै गरेन । सरकारी लापरबाहीका कारण किसान पीडामा परे । रोपाइँको मुखमा हल गोरु मरेका उदाहरण कति छन् कति ।’

रोगले दूध उत्पादन घट्नुका साथै दुग्धपदार्थको उपभोग गर्नेदेखि पशुवस्तुको मल उत्पादनका लागि खेतबारीमा उपयोग गर्ने चक्रीय स्वनिर्भर खेतीप्रणाली नराम्ररी प्रभावित बनाएको छ । रोगले मुख्यतया पशुपालनमा केन्द्रित साना किसानको जनजीविका धराशायी बनेको खाद्यका लागि कृषि अभियानका संयोजकसमेत रहेका अधिकारीले बताए । ‘हरेक प्राकृतिक विपत्तिसँग हारेका किसानले राज्यलाई कहिल्यै आफ्नो अभिभावकीय भूमिकामा रहे भएको देख्न पाएनन्,’ उनले भने, ‘किसानले बेहोरेको यो अपूरणीय क्षतिको यथार्थ तथ्यांक संकलन गरी उचित क्षतिपूर्ति दिनुपर्छ ।’

लम्पी रोगकै कारण पहाडी क्षेत्रमा रोपाइँ नै ढिला भएको छ । रोगकै कारण किसान पीडित बनिरहदा सरकारले राहतको कार्यक्रम घोषणा पनि गरेको छैन । न त संक्रमित पशुका लागि पर्याप्त औषधोपचार र खोपकै व्यवस्था गर्न सकेको छ । ‘रोगकै कारण पशुपालन व्यवसाय गरिरहेका किसान आहत भएका छन् । किसानलाई राहत पुर्‍याउने कुनै कार्यक्रम घोषणा गर्न नसक्नु सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो,’ किसानका १० संघरसंस्थाका सञ्जाल ‘राष्ट्रिय किसान सञ्जाल’का संयोजक गणेशचन्द्र तिमिल्सिनाले भने, ‘यस्तो विकराल अवस्थामा बिमित किसानले बिमा रकम भुक्तानी पनि पाएका छैनन् । बिमा कम्पनीले बिमा नवीकरण गर्न नमानिरहेको अवस्था छ ।’

लम्पीले महामारीकै रूप लिएकाले सरकारले तत्काल महामारी घोषणा गर्नुपर्नेमा उनले पनि जोड दिए । ‘महामारी घोषणा गरेर किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापना गरी अविलम्ब रोगबाट मरेका पशुको बिमा भुक्तानी गरियोस्,’ उनले भने, ‘बिमित किसानको भुक्तानी नदिने, आलटाल गरी किसानलाई दुःख दिने र पशुधन बिमा नवीकरण नगर्ने कम्पनीलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्नुपर्छ ।’ विवरण अनुसार सबैभन्दा बढी सुदूरपश्चिममा २५ हजार ६ सय १० पशु मरेका छन् । दोस्रोमा कर्णालीमा ८ हजार ७ सय ३, कोशीमा ५ हजार ४२ र लुम्बिनीमा ४ हजार पशु मरेको जनाइएको छ । वाग्मतीमा ३ हजार ४ सय ७६, गण्डकीमा २ हजार २ सय ९५ र मधेशमा १७ सय पशु मरेको विभागले बताएको छ ।

विभागले भने पछिल्लो समय संक्रमण दर घटेको दाबी गरेको छ । ‘मृत्यु हुने पशु र संक्रमण दरभन्दा निको हुनेको संख्या धेरै छ,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने । संक्रमितमध्ये सबैभन्दा बढी सुदूरपश्चिममा २ लाख ४७ हजार ९ सय ७१ पशु निको भएका छन् । दोस्रोमा क्रमशः कोशीमा २ लाख २ हजार ९ सय ८९, कर्णालीमा १ लाख ७८ हजार ८, लुम्बिनीमा ५४ हजार ६ सय, वाग्मतीमा ४७ हजार ५ सय ४५, गण्डकीमा ३६ हजार ३ सय ७७ र मधेशमा २२ हजार १ सय २८ पशु निको भएको विभागले जनाएको छ ।

विभागका अनुसार रोग नियन्त्रणका लागि पालिकाहरूमा प्राविधिक एवं डाक्टर खटाइएको छ । साथै गाउँगाउमा सचेतनाका कार्यक्रम पनि गरिएको छ । रोगलाई निर्मूल पार्न खोपलाई पनि तीव्रता दिइएको विभागको दाबी छ । साउन १२ सम्म ३ लाख ५० हजार ९ सय २६ पशुलाई खोप लगाइएको ढकालले जनाए । -कान्तिपुरबाट

प्रकाशित मिति : १३ श्रावण २०८० शनिबार ००:००  ७ : ४२ बजे