१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाँच दिनपछि खुल्यो प्युठान–भालुवाङ सडकखण्ड



प्युठान ।
प्युठान–भालुवाङ सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरो पन्छाउन पाँच दिन लागेको छ । गत बुधबार राति करिब १० बजे खसेको पहिरोले अवरुद्ध भएको सडक आइतबार साँझ करिब पाँच बजेमात्र खुलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले पहिरो पन्छाएपछि यातायातका साधनहरु चल्न थालेको बताए । आइतबार साँझ नै सडक खुलाइए पनि रातिमा यात्रा गर्दा जोखिम हुनसक्ने भएकाले सोमबार बिहानबाट मात्रै यातायातका साधनहरु चल्न दिइएको उनले बताए ।

दाङको भालुवाङ–प्युठान सडकखण्ड फराकिलो बनाउने क्रममा भित्ता काट्दा जमिन थर्किएर कमजोर बनेको र ठूलो पहिरो झरेको अनुमान छ । सडकदेखि करिब ५० मिटर माथिबाट खसेको पहिरोले १५० मिटर सडक क्षेत्र ढाकेको थियो । सडकको माथि चट्टानी भिर र तलतिर ठूलो माडी नदी भएकाले पैदल हिँड्न पनि यात्रुलाई सकस भएको थियो ।

प्युठानको बड्डाँडा–चकचके खण्ड कमजोर भौगोलिक बनावट भएका कारण पहिरो झर्ने गरेको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठ बताउँछन् । सडक विस्तारको बेला ठूला मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर जमिन थप कमजोर हुने भएकाले पहिरो झर्ने उनले बताए ।

गर्जेनीमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा भालुवाङ–प्युठान र रोल्पा आउ–जाउ गर्ने यात्रुहरुले देवीस्थान–घोराही सडक (४८ किलोमिटर) प्रयोग गर्न बाध्य भएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०८० सोमबार ००:००  ७ : ४८ बजे