१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माओवादी केन्द्र कपिलवस्तुको इन्चार्जमा गहतराज, अरु जिल्लामा कस्लाई पठाइयो ?



कपिलवस्तु ।
नेकपा (माओवादी केन्द्र) कपिलवस्तु इन्चार्जको जिम्मेवारी महेश्वर गहतराजलाई दिइएको छ ।

लुम्बिनी प्रदेश राजधानी देउखुरीमा बसेको माओवादी केन्द्रको प्रदेश समितिको बैठकले गहजतराजलाई कपिलवस्तु इन्चार्ज बनाएको हो ।

भदौ १६ गतेदेखि तीन महिने विशेष अभियान सुरु गर्ने गरी विशेष कार्ययोजना माओवादीले तय गरेको छ ।

प्रदेशको राजधानी देउखुरीमा बसेको बैठकले समसामयिक प्रस्तावहरु पारित गर्दै अभियानको जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

विशेष अभियानका लागि पार्टीले स्थायी समिति सदस्य पूर्णबहादुर घर्तीलाई अभियानको रोल्पाको इन्चार्ज तोकेको छ ।

त्यसैगरी, रुकुममा कमला रोका, रुपन्देहीमा गणेशमान पुन, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हकिकुल्लाह खाँ, अर्घाखाँचीमा वामदेव क्षेत्री, दाङमा जयपुरी घर्ती, बाँकेमा कुलप्रसाद केसी, बर्दियामा पूर्णा सुवेदी र गुल्मीमा जोखबहादुर महरा खटाइएका छन् ।

प्यूठानको कमान्ड कार्यालयले हेर्नेछ । तीन महिनाको लागि जिल्ला इन्चार्जहरुको पनि जिल्ला परिवर्तन गरी जिम्मेवारी ताकिएको छ । केन्द्रीय सदस्यहरुको अन्तरजिल्ला र प्रदेश समिति सदस्यहरुको अन्तरपालिका जिम्मेवारी तोकिएको प्रदेश समितिका सचिव कृष्णकुमार अधिकारीले जानकारी दिए ।

तीन महिनाको अभियानको मुख्य लक्ष्य लुम्बिनी प्रदेशमा पार्टी सदस्यता वृद्धि गर्ने र हरेक वडामा न्युनतम तीन वटासम्म टोल समिति निर्माण गर्ने रहेको छ । हरेक वडामा महिला, विद्यार्थी, किसान, युवा, दलित तथा त्यहाँको विशेषताको जनसंगठन तथा मोर्चाको वडा समिति निर्माण गरिने छ र यसलाई विस्तारै टोल सम्म विस्तार गरिने छ ।

जनसंगठन र मोर्चा संगठनहरुले हरेक वडाहरुमा न्युनतम ५०र५० नयाँ साधारण सदस्य तयार गर्ने उद्देश्य पार्टीले बनाएको छ । केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यता वसेको बैठकमा स्थायी समिति सदस्यहरु, केन्द्रीय सदस्यहरु अतिथिहरुको रुपमा बैठकमा सहभागी थिए ।

प्रदेश इन्चार्ज हितमान शाक्यले जिम्मेवारी पूरा गर्ने गरी खट्न अभियानका जिल्ला इन्चार्ज तथा प्रदेश समिति सदस्यहरुलाई निर्देशन दिएका छन् ।

बैठकले यथाशीघ्र रोक्का गरिएको प्रदेश राजधानीको जग्गा फुकुवा गर्न, बाढी पहिरो प्रभावितहरुको लागि राहत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी संघीय सरकारले भ्रष्टाचार नियन्त्रणको लागि चालेको कदममा ऐक्यवद्धता जनाउँदै सुशासनको प्रत्याभूत गराउने कार्यमा सहयोग गर्न सबैमा आग्रह गरेको अध्यक्ष बरालले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८० बुधबार ००:००  ९ : ४१ बजे