कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लामा क्रियाशील ३० भन्दा बढी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। सहभागी संस्थाहरूले आ–आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्थानीय तह तथा विषयगत सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले गैरसरकारी संस्थाहरूले प्रचारमुखीभन्दा पनि समुदायमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो।
“काम गर्नु मात्रै उपलब्धि होइन, त्यस कार्यक्रमबाट समुदायमा वास्तविक परिवर्तन आयो कि आएन र लक्षित वर्गले प्रत्यक्ष लाभ पाए कि पाएनन् भन्ने मुख्य कुरा हो,” उहाँले भन्नुभयो। जिल्लाको वास्तविक आवश्यकता र प्राथमिकता पहिचान गरी स्थानीय तहसँग पूर्ण समन्वयमा कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले शिक्षा, स्वास्थ्य तथा नागरिकको जीवनस्तर सुधारमा गैरसरकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले केवल तालिम र गोष्ठीमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्दै संस्थागत सुशासन, स्पष्ट मानव संसाधन नीति र प्रचलित कानुनको पूर्ण पालना गर्न संस्थाहरूलाई आग्रह गर्नुभयो। साथै नागरिकमा कर्तव्यबोध गराउने प्रकृतिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले समन्वयको अभावमा जिल्लामा सक्रिय सबै संस्थालाई एउटै छातामुनि गोलबद्ध गर्न चुनौती रहेको बताउनुभयो। आगामी दिनमा स्थानीय तहसँग समन्वय गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने उहाँले बताउनुभयो।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख माधव बन्जाडे, कृषि ज्ञान केन्द्रका सत्यराम हरिजन र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत मधु चौधरीले एकीकृत समन्वयबाट मात्रै परिणाममुखी नतिजा हासिल गर्न सकिने धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले दूरदराजका समुदाय तथा ओझेलमा परेका क्षेत्रमा गैरसरकारी संस्थाले गरेका सकारात्मक काम र उपलब्धिलाई सञ्चारमाध्यममार्फत पारदर्शी रूपमा बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो।
वार्षिक समीक्षा कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्र, किड्स, दलित सामाजिक विकास केन्द्र, लुम्बिनी अपाङ्गता विकास केन्द्र, किर्डाक नेपाल, सिद्धार्थ सामाजिक विकास केन्द्र, साथी संस्था, दलित महिला संघ, माहुरी होम, शान्ति पुनःस्थापना गृह, आफन्त नेपाल, पिस नेपाल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल, नवजीवनलगायतका दर्जनौँ संस्थाले शिक्षा, स्वास्थ्य, कृषि, पोषण, मानव बेचबिखनविरुद्धको अभियान तथा यौनिक एवं लैङ्गिक अल्पसङ्ख्यकका क्षेत्रमा हासिल गरेका उपलब्धि, चुनौती र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।








प्रतिक्रिया