लुम्बिनी । लगातारको वर्षा र हावाहुरीका कारण लुम्बिनी प्रदेशका बाँके, बर्दिया र पाल्पाको धानबालीमा ठुलो क्षति भएको छ । पाकेर काट्ने बेला भएको धान ढल्नुका साथै कतिपय खेतमा बाढी र डुबान पसेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् ।
बाँकेका आठ वटै पालिकामा धानबाली ढलेको, डुबेको र कतिपय स्थानमा हावाहुरीले बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धानसँगै तरकारी खेतीमा समेत क्षति पुगेको छ । यद्यपि क्षतिको यकिन विवरण भने आएको छैन ।
कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माले जिल्लाका सबै पालिकाबाट धानबालीमा क्षति पुगेको विवरण प्राप्त भएको बताउनुभयो । “किसानबाट क्षतिको जानकारी आइरहेको छ । सबै पालिकाका कृषि शाखासँग विवरण मागेका छौँ,” उहाँले भन्नुभयो, “पालिकाबाट विवरण प्राप्त भएपछि मात्रै वास्तविक क्षतिको अवस्था थाहा हुन्छ ।”
नेपालगन्ज–१९, मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हावाहुरीले धान ढालेको र वर्षाले डुबाएको छ । उहाँले कति धान जोगिने र कति नोक्सान हुने भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको बताउनुभयो । डुडुवा गाउँपालिका कम्दीका किसान सुजन थापाको खेतमा पनि अधिकांश धान ढलेर डुबेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरिए पनि कटानीको समय नजिकिँदै गर्दा आएको वर्षा र हावाहुरीले उत्पादन घट्ने चिन्ता थपिएको छ ।
पाल्पामा पनि बाढीपहिरोका कारण धानबालीमा क्षति पुगेको छ । तानसेन–९ को माडीफाँटमा तिनाउ नदीको धार परिवर्तन भई खेतमा पसेपछि करिब पाँच सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो । माडीफाँटको अम्लिहान, टारी, सरङ्जा र लालपाटी क्षेत्रमा पसाएर बाला लाग्न थालेको धानमा बढी क्षति भएको उहाँले बताउनुभयो ।
यसै गरी पूर्वखोला फाँट, झडेवा फाँट र निस्दीका साना फाँटमा पनि वर्षा तथा बाढीपहिरोका कारण धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धानसँगै मकैपछि लगाइएको तरकारी तथा अन्य अन्नबाली र फलफूलमा समेत क्षति पुगेको छ ।
बर्दियामा भने छिटो पाक्ने जातको धानमा हावाहुरी र वर्षाले बढी क्षति पुर्याएको छ । असोजमै काट्न तयार भएको धान ढलेर खेतमै उम्रिन थालेको किसानले बताएका छन् ।
गुलरिया नगरपालिका–२, पण्डितपुरका किसान टेकबहादुर खत्रीले काट्ने बेला भएको धान ढलेर उम्रिन थालेको बताउनुभयो । लगातार पानी पर्दा ढलेको धान खेतमै उम्रिन थालेपछि ठुलो नोक्सानी हुने उहाँको भनाइ छ ।
मधुवन नगरपालिकाका कृषि विकास शाखा प्रमुख एकराज वलीका अनुसार वर्षा र हावाहुरीका कारण छिटो पाक्ने जातको करिब १० प्रतिशत धानमा क्षति पुगेको छ । ढिलो पाक्ने जातको धानमा तुलनात्मक रूपमा कम क्षति भए पनि छिटो पाक्ने जात ढलेर नोक्सान भएको उहाँले बताउनुभयो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीले विभिन्न स्थानबाट पाकेको धानबालीमा क्षति पुगेको जानकारी आएको बताउनुभयो । उहाँका अनुसार पालिकाका कृषि शाखामार्फत क्षतिको विवरण सङ्कलन गरेपछि मात्रै जिल्लामा भएको वास्तविक क्षतिको अवस्था स्पष्ट हुने छ । गोरखापत्रबाट






प्रतिक्रिया