१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

ट्रयाक्टर समितिले २७औँ स्थापना दिवस रक्तदान गरि मनायो


१० आश्विन २०८३ शनिबार ००:००  

0
Shares

कपिलवस्तु । वाणगंगा नगरपालिका ८ बोर्डगाउँमा रहेको नेपाल किसान ट्रयाक्टर समितिले आफ्नो २७औँ स्थापना दिवस रक्तदान कार्यक्रम गरि मनाएको छ । आफ्नो स्थापना दिवसलाई मानबिय सेवासँग जोड्दै समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा समितिका सदस्य, सुरक्षाकर्मी तथा स्थानीयवासी गरि ७० जनाले रक्तदान गरेका थिए।

समितिका अध्यक्ष झविन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुकी प्रहरी निरीक्षक कालिका कार्की, उद्योग व्यापार संघका अध्यक्ष टोप नारायाण बेलबासे लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले रक्तदानलाई महत्वपूर्ण मानवीय सेवाका रूपमा लिनुपर्ने बताए। उनले वाणगंगा नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै रगत आवश्यक पर्ने अवस्थामा सहजीकरण गर्दै आएको जानकारी दिए। वाणगंगा नगरपालिकाका नागरिक भएको परिचय खुल्ने आवश्यक कागजातका आधारमा नगरवासीले निःशुल्क रूपमा रगत प्राप्त गर्न सक्ने व्यवस्था रहेको उनले बताए।

नगर प्रमुख अर्यालले रक्तदानबाट संकलित रगतले आकस्मिक अवस्थामा बिरामी तथा घाइतेको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सामाजिक संस्थाहरूले यस्ता मानवीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

यसैबीच, इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा हालै जिम्मेवारी सम्हाल्न पुगेकी प्रहरी निरीक्षक कालिका कार्कीलाई नेपाल किसान ट्रयाक्टर समितिका पदाधिकारी तथा सदस्यहरूले संयुक्त रूपमा स्वागत तथा सम्मान गरेका थिए। समितिले नयाँ प्रहरी नेतृत्वसँग सहकार्य गर्दै शान्ति सुरक्षा तथा सामाजिक गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले समितिको नियमित गतिविधिलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै स्थापना दिवसलाई सेवामूलक बनाएको संयोजक टंक पाण्डेले बताएका छन्।

प्रकाशित मिति : १० आश्विन २०८३ शनिबार ००:००  १० : १५ बजे