१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माधव पौडेलले भने- ‘नेविसंघ कपिलवस्तुको जिम्मेवारी मलाई छ, पोख्रेलले भ्रामक सूचना छरे’



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल विद्यार्थी संघ कपिलवस्तुका कार्यवाहक अध्यक्ष माधव पौडेलले चन्द्रकान्त पोख्रेललाई अध्यक्ष नस्विकार्ने बताएका छन् । एक विज्ञप्ति निकाल्दै पौडेलले आफू नेविसंघको जिम्मेवारीमा रहदा रहदै चन्द्रकान्त पोख्रेलले भ्रामक सूचना दिएको आरोप लगाएका छन् ।

पोख्रेललाई नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाका लागि अध्यक्ष तोकेर पठाएका थिए । उक्त पत्र सार्वजनिक भएसँगै पोख्रेलले बधाई खाइरहेका छन् । तर नेविसंघको कार्यबहाक अध्यक्षको जिम्मेवारीमा रहेका पौडेलले भने यस विषयमा आपत्ति प्रकट गरेका छन् । लामो समय गुटबन्दीको शिकार हुँदै आएको नेविसंघ कपिलवस्तुको विवाद बाहिर नै छताछुल्ल भएको हो ।

युवा नेताको छवि बनाएका पोख्रेललाई तीन महिनाभित्र अधिवेशन गर्ने गरी जिम्मेवारी दिइएको छ । तर यो विधान विपरित रहेको कार्यवाहक अध्यक्ष माधव पौडेलले बताएका छन् ।

आफू कार्यवाहक रहेको अवस्थामा पोख्रेललाई अध्यक्ष बनाएर केन्द्रिय कार्यसमितिले राजनीति गरेको भन्दै उनले आपत्ति पनि जनाए ।

कार्यवाहक अध्यक्ष पौडेलले आफू कार्यवाहक रहेको मितिमै पोख्रेललाई अध्यक्षको जिम्मेवारी दिएर केन्द्रिय कार्यसमितिले लोक हँसाउने काम गरेको बताए ।

पोख्रेललाई अध्यक्षको जिम्मेवारी दिएको पत्रको मिति २०८०। ३ । २५ रहेको छ । पौडेल भन्छन् ‘उक्त मितिमा म नै कार्यवाहक अध्यक्ष थिएँ । मेरो कार्यकाल अझै बाँकी छ । यस्तो गैर जिम्मेवार काम गरेर केन्द्रिय कार्यसमितिले ममाथि राजनीति गरेको छ । यो राजनीति गर्नुमा जिल्लास्थित पार्टी पङ्ति र केहि गुटका मान्छे रहेका छन् ।’

पौडेलले आफूलाई २०७९ माघ २० गते कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिए । निर्वाचित जिल्ला सभापति राकेश पाण्डेयले आफूलाई अध्यक्षको जिम्मेवारी तोकेको सबैलाई अवगत रहेको उनले बताए ।

जिल्लाको कार्यवाहक अध्यक्ष रहेको अवस्थामा केन्द्रीय समितिमा सिफ्ट गरेर आफूलाई हटाउने खेल सुरु भएको पनि उनले बताए । यो थाहा पाएपछि नवगठित नेविसंघको केन्द्रिय सदस्यबाट आफूले राजिनामा दिएको पौडेलले बताए ।

पौडेलले अहिले अध्यक्षको जिम्मेवारी पाएका पोख्रेलको उमेर हद कटिसकेको पनि बताए । पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघको विधान विपरित एकाएक नियोजित तरिकाले बत्तिस बर्ष उमेर हद नाग्नुभएका चन्द्रकान्त पोख्रेल ज्यूले जिल्ला अध्यक्ष भएको भ्रमात्मक समाचार संचार माध्यमबाट थाहा पाएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण छ ।’

३ महिनाभित्र आफूले जिल्ला अधिवेशन गर्ने जिम्मेवारी पाएको अवस्थामा उक्त कार्य गर्न नदिई आफूमाथि राजनीति गरिएको पौडेलको दावी छ । संघको अधिवेशन सम्पन्न नगर्दासम्म आफूले पोख्रेललाई कुनै पनि हालतमा अध्यक्ष स्विकार गर्न नसक्ने पौडेल बताउँछन् । यो विषय केन्द्रलाई पनि जानकारी गराइसकेको पौडेलले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८० बिहिबार ००:००  ३ : ४७ बजे