१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माधव नेपालले भनेः प्रतिगामी कदमविरुद्ध समाजवादी मोर्चा बनेको हो



बुटवल ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमन कदमका विरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन् ।

वामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमका विरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न मोर्चा बनेको उनले बताए ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले संविधानको रक्षा र समाजवादी व्यवस्थाका लागि मोर्चा बनेको बताएका हुन् ।

‘प्रतिगमन र प्रतिगनकारी काम र अनुचित कदमका विरुद्ध बनेको मोर्चा हो’, नेपालले भने, ‘यसले समाजवादका मान्यताअनुसार अग्रगामी कार्यक्रम मार्फत सहकार्य गर्नेछ ।’

अध्यक्ष नेपालले देश विकाससँगै वर्गीय, जातीय, क्षेत्रीय, उत्पीडितहरूको मुक्ति, श्रम संस्क्कृति र आर्थिक समृद्धिको रुपान्तरणमा मोर्चाले काम गर्ने बताए । उनले अहिले मुलुकमा विचलौलिया, दलाल पूँजीपतिहरू हावी भएकले देशमा आर्थिक संकट पैदा भएको टिप्पणी गरे । मुलुकमा उत्पन्न राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिकजस्ता समस्याहरूको समाधानका लागि समेत मोर्चाले सातै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए । निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

‘अहिले कसैको पनि बहुमत आएको छैन, मिलेरै अगाडि बढ्नुपर्छ’ अध्यक्ष नेपालले भने ।

उनले नेकपा एकीकृत समाजवादीको कोही कसैसँग एकता गर्ने सम्भावना नरहेको बताउँदै गठबन्धन बलियो बनाउँदै लैजाने पक्षमा रहेको बताए ।

‘नेकपा एस गठबन्धनलाई बलियो बनाउँदै संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा छ’, उनले भने । उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले संघ, प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा जोड दिए ।

‘हामी जहाँ छौं, त्यहीँबाट जनताको पीडा र वेदनालाई सरकार, सदन र सडकबाट उठाउनुपर्छ’, उनको आग्रह छ ।

अध्यक्ष नेपालले पछिल्लो समय धरानमा सामाजिक सदभाव विथोल्ने खालको घटना देखिएको बताउँदै एक अर्काकाबीच धार्मिक सद्भाव कायम गर्न आग्रह गरे । नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुभाषिक मुलुक भएकाले सबै जातजाती र धर्मसंस्कृतीको संरक्षण गर्नुपर्ने अध्यक्ष नेपालले बताए ।

उनले नेपाल हिन्दू र बौद्ध धर्मको जननी भएको बताउँदै सनातम धर्म संस्कृतिको संरक्षणमा गम्भिर हुन सबैलाई अपिल गरे । उनले धार्मिक सदभाव नै नेपालीहरूको पहिचान भएको बताउँदै अध्यक्ष नेपालले संयम बन्न सबैलाई अपिल गरे । नेपाल समाजवादी मोर्चा नेपालले मंगलबार बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्न बुटवल आएका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०८० मंगलबार ००:००  ३ : १३ बजे