४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

अतिक्रमित वन फिर्ता गरी बन व्यवस्थापन गर्न आवश्यक : सांसद पन्थी



मायादेवी अनलाइन, बाणगंगा

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले नेपालमा सामुदायिक बनको अवधारणा आएपछि बनजंगल जोगिएको र उपभोक्तालाई काठ दाउरा सहज भएको बताएका छन् । विगतमा बनको व्यवस्थापन नहुँदा उपभोक्तालाई धेरै कठिन हुने गरेकोले पछिल्लो समय बन समूह मार्फत सहज भएको उनले बताए ।

बाणगंगा – २ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको १६औ बार्षिक साधारण सभालाई सम्वोधन गर्दै सांसद पन्थीले उपभोक्ता समूहले बन अतिक्रमण रोकथाममा ध्यान दिनुपर्ने बताउदै बनको संरक्षण र सम्वर्धनमा जोड दिएका थिए ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री समेत भएका पन्थीले बन जोगिए मात्र सवै थोक प्राप्त गर्न सकिने भएकाले अतिक्रमित बनलाई फिर्ता गरी बन व्यवस्थापनमा योगदान दिन जोड दिए । उनले बन मार्फत समृद्धी हासिल गर्न सकिने सम्भावना भएकाले यसको अधिक्तम उपयोगबाट स्थानीय तहमा रोजगारी, उद्यमशीलता, सामुदायिक विकास र विकास निर्माणले फड्को मार्ने बताए ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायीक बनले विकास निर्माण समुदायको हितमा काम गर्दा स्थानीय तहसंग सहकार्य गरी काम गर्दा गुणात्मक र प्रभावकारी हुने बताए । उनले बनले बुझाउने राजश्वले नगरको विकासमा योगदान पु¥याउने भएकाले संघीय र प्रदेश ऐन नियमावली अनुसार सामुदायिक बनले कार्ययोजना अनुसार काम गर्नुपर्ने बताए ।

कार्यक्रममा डिभिजन बन कार्यालयका प्रमुख विजयराज सुवेदीले बनमा हुने चोरी निकासी, बन अतिक्रमण रोक्दै बन संरक्षण र व्यवस्थापनमा उपभोक्ता चनाखो हुनुपर्ने बताएका थिए । उनले वैज्ञानिक बनको अवधारणा कपिलवस्तुबाट आफैले शुरुवात गरी सफलता मिलेको गतिलो उदाहरण दिदै वैज्ञानिक र दिगो बन व्यवस्थापनको विषय एउटै भएको तर्क गरे ।

वैज्ञानिक र दिगो भनी उपभोक्ताहरु अल्मलीन नहुने बताउदै सुवेदीले बन व्यवस्थापनमा उपभोक्ताहरु सकृय हुनुपर्ने र बार्षिक कार्ययोजनाबारे साधारण सभामा आम उपभोक्ताहरुले घनिभुत छलफल गरी कार्यान्वयनमा सहज बनाउनुपर्नेमा जोड दिए । बनबाट मुलुकलाई आत्म निर्भर बनाउन सकिने बताउदै बनजन्य उत्पादन र वस्तुहरुको उपयोगले अर्थतन्त्र बजमुत बनाउन सकिने बताए ।


कार्यक्रममा वाणगंगा २ का वडा अध्यक्ष विष्णु पौडेल, समूहकासल्लाहकार बालाराम ज्ञवाली, सव डिभिजन कार्यालय पिपराका प्रमुख शिव बहादुर केसी, बाल मा.वि.बैरियाका प्रअ टिकाराम पौडेल, वाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष विश्व कार्की, माहुरी पालन सहकारी संस्था लिमिटेडका अध्यक्ष लिलापती घिमिरेले लगाएतले बन संरक्षण गर्नुपर्ने बताएका थिए ।

मनकामना सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष मुक्त बहादुर कार्कीले विभिन्न प्रस्तावहरु पेश गर्दै वार्षिक ६ करोड बराबरको अनुमानित कार्ययोजना प्रस्तुत गरेका थिए । समूहकी सचिव गंगा कुमारी भट्टराईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष पुष्कर घिमिरेले स्वागत गरेका थिए । समूहको उक्त वार्षिक कार्ययोजना उपभोक्ताले सुझाव सहित पारित गरेका थिए ।

बाणगंगा १ र २ का १२ घरधुरी उपभोक्ता रहेको मनकामना सामुदायिक बन उभोक्ता समूहको ४ सय हेक्टर बन क्षेत्र रहेको ।

प्रकाशित मिति : १३ कार्तिक २०८० सोमबार ००:००  ७ : ४० बजे