२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कपिलवस्तुको आर्थिक विकास कृषि र पशुपालनबाट सम्भव छ : समन्वय प्रमुख आचार्य



वाणगंगा, मायादेवी अनलाइन ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले कपिलवस्तुको आर्थिक विकास कृषि तथा पशुपालनको माध्यमबाट गर्न सकिने सम्भावना धेरै भएको बताउनुभयो । उहाँले कपिलवस्तुमा खेतीयोग्य जमिन प्रशस्त हुँदाहुँदै पनि कृषि र पशुपालनमा उल्लेखनीय प्रगती हासिल हुन नसकेको बताउनुभयो । स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट ब्लक विकास कार्यक्रम सम्बन्धी आइतबार वाणगंगामा आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले पहुँचका आधारमा मल वितरण हुने गरेकाले कपिलवस्तुमा मलको अभाव हुँदा कृषि क्षेत्रमा समस्या आउने गरेको बताउनुभयो । आफनै जिल्लाको कृषि मन्त्री त्यसमा पनि साथी सरह मलको कुरा उठाइरहदा मन्त्री भुसालले जिल्लामा मलको अभाव नभएको बताउदै आएपनि कपिलवस्तुमा भने समस्या यथावत रहेको समन्वय प्रमुख आचार्यले जानकारी दिनुभयो । कपिलवस्तुमा खेतीयोग्य जमिन धेरै हुँदा पनि रुपन्देहीमा भने पहुँचको आधारमा धेरै मल जाने गरेको उहाँले स्पष्ट पार्नुभयो । जिल्लाको विकासका लागि स्थानीय तहमा कार्यरत कृषि र पशु प्राविधिकको अहिले भन्दा बढ्ता सकृयता देखाउनुपर्ने र आफनो जिम्मेवारी अनुशासीत ढंगले पुरा गर्नुपर्नेमा समन्वय प्रमुख आचार्यले जोडदिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कपिलवस्तुले बरिष्ठ कृषि विकास अधिकृत सहसराम कुुर्मी चौधरीले कृषि क्षेत्रको आयात धेरै भएकाले आयात प्रतिस्थापन कसरी गर्ने भन्ने विषय चुनौती रहेको बताउनुभयो । उहाँले परियोजनाले पकेट र ब्लव सम्भागलाई बढावा दिएर कृषि उत्पादकत्व बढाउन खोजेको बताउनुभयो । विभिन्न देशको अध्ययन अवलोकन गर्दा वंगलादेशले ३ वर्षयता कृषि क्षेत्रमा धेरै उपलब्धी हासिल गरेकाले हामीले पनि गर्न सकिने परियोजनाका प्रमुख चौधरीले बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख भाष्करराज पौडेलले कृषि क्षेत्रको अनुदान प्रभावकारी बनाउन व्यवसायिकतामा जोड दिनुपर्ने बताउनुभयो । अझैपनि काम नै नगरी कागजी प्रकृया पुरा गरेर अनुदान लैजाने परिपाटीलाई आफुले अन्त्य गर्न खोजेको प्रमुख पौडेलले बताउनुभयो । विधी र प्रकृयामा अनुसार फिल्डमा गएर हेर्दा कार्यक्रमहरु थप प्रभावकारी हुने उहाँले बताउनुभयो ।
स्थानीय तह, प्रदेश र संघीय अनुदानलाई डुब्लीकेशन हुन नदिन सवै निकाय चनाखो हुनुपर्नेमा जोड दिइएको थियो । पालिकाका कृषि तथा पशु शाखाका प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा पालिकागत प्रगती तथा कार्यक्रमको बारे प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा धान सुपरजोन संचालक समन्वय समितिका सचिव गोपालमणी ज्ञवाली, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ कपिलवस्तुका अधिकृत रामकेश यादवले मागको आधारमा कार्यक्रम लैजान आवश्यक भएको बताउनुभयो ।

प्रकाशित मिति : ९ पुस २०८० सोमबार ००:००  ८ : ३६ बजे