२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

स्वास्थ्य सेवा नै बन्दगरि अवकाश पत्र थमाउदै सामुदायिक अस्पताल, स्वास्थ्यकर्मी आन्दोलित



हरि अधिकारी, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा ४ सिद्धिपुरमा रहेको कपिलवस्तु सामुदायिक अस्पताल आर्थिक अभावको कारण सम्पूर्ण सेवाहरु बन्द भएको जनाएको छ। अस्पतालको मुलगेटमा सूचना टास गर्दै अस्पतालको स्तरोन्नति र आन्तरिक व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखाउँदै अस्पताल विकास समितिले अर्को सूचना नआउदा सम्म सेवा स्थगन गर्ने निर्णय गरेको हो।

अस्पताल प्रशासनले मूल गेटमा सूचना टाँसेसँगै सेवा बन्दको जानकारी सार्वजनिक भएको हो। सेवाको स्थगनसँगै अस्पतालमा कार्यरत ३१ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू अन्योलमा परेका छन्। उनीहरूले कुनै पूर्वजानकारी नदिई एकाएक सूचना टाँस गरी सेवा बन्द गर्ने निर्णयप्रति सामुहिक रुपमा आपत्ति जनाएका छन्।

स्वास्थ्यकर्मीकाे आक्रोश, आन्दोलनको चेतावनी

कर्मचारीहरूका अनुसार चार–पाँच महिनादेखि उनीहरूले तलब तथा सेवा सुविधासमेत पाएका छैनन्। त्यसमाथि सूचना टाँस गरेर एकतर्फी रूपमा अवकाश पत्र थमाउन थालिएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार सेवा बन्द गर्नु अगाडि छलफल र संवादको प्रक्रिया हुनुपर्नेमा प्रशासनले कुनै चासो नदेखाएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रबिन्द्र श्रेष्ठले बताउनुभयो । अस्पतालमा विरामीको फलो बढिरहेको छ, ल्याव र फार्मेसी पनि राम्रै चलेको अवस्थामा कसरी एकाएक बन्द गर्नुपरयो यो विषय रहस्यमय भएको कर्मचारी बताउछन् । विगतका वर्षदेखीकै अतिरिक्त काम र काेभिडकाे अवस्था जाेखिमपूर्ण काम गर्दा समेत हालसम्म सुविधा नपाएकाे १० वर्षदेखि कार्यरत रहेका ल्याव प्रमुख टन्डनले बताउनुभयाे । कुनै जानकारी विना एकाएक सेवा बन्द गरेर गेट बाहिर स्वास्थ्यकर्मी उभिनुपर्ने अवस्था िसर्जना हुनु छानबिनकाे िवषय बनाउनु पर्ने बताइएकाे छ ।

बिरामी फर्काइयो, इमर्जेन्सी वार्डसमेत बन्द

अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी वार्ड) मा उपचार गराइरहेका बिरामीहरूलाई समेत घर फर्काइएको मेडिकल अधिकृत डा. रोशन कुमार यादवले जानकारी दिनुभयो। उहाँले अचानक सम्पूर्ण सेवा बन्द गर्नु अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको बताउनुभयो। त्यस्तै डियुटीमै रहेकै इमर्जेन्सीमा भर्ना भएका विरामीलाई घर पठाई एक्कासी सेवा बन्द गरेको सूचना टाँस गर्नु दुखःद घटना भएको स्वास्थ्यकर्मी दिब्या हमालले बताउनुभयो । ७ वर्षदेखि अस्पतालमा कार्यरत रहेकी एनम हमालले ४ महिना देखि तलव सुविधा नपाएको र हाल आएर अस्पताल प्रशासनले स्वत अवकास दिने कार्य अघि बढाउदा आफुहरु तनाबमा रहेको बताउनुभयो ।

अस्पतालको स्थापना र आर्थिक अवस्था

२०६६ सालमा समाजसेवी शेर बहादुर क्षेत्रीको नेतृत्वमा कपिलवस्तु सामुदायिक अस्पताल स्थापना भएको थियो । तत्कालिन समयमा बृहत महायज्ञ संचालन गरेर जनताकाे विश्वास िजतेर दानदाता, व्यक्तिगत तथा सरकारी तवरबाट सहयोग प्राप्त गरी पवित्र भावनाले शुरु गरिएको अस्पताल हो । स्थानीय समुदायको सहभागीता र लगानीमा यसक्षेत्रमा सामुदायिक अस्पताल संचालन हुँदा यस क्षेत्रमा धेरै खुशी छाएको थियो । हालसम्म अस्पतालमा ३२०० बढी सेयर सदस्य रहेका छन् । यति ठूलो संख्यामा सदस्यहरू रहेपनि अस्पताल आर्थिक संकटमा फसेको भन्दै बर्तमान संचालक समितिले सेवा बन्द गर्दा स्थानीयवासी र सेवाग्राही चिन्तित बनेका छन्।

किन बन्द गर्नु परयाे ?

अस्पताल विकास समितिका अध्यक्ष शिवचन्द्र आचार्यका अनुसार आर्थिक बोझ अत्यधिक बढेको, कर्मचारीहरूको पारिश्रमिक व्यवस्थापन गर्न नसकिएको र अस्पताल स्तरोन्नतिको काम थालिएको हुँदा सेवा बन्द गर्नु परेको हो। उहाँले अर्को सूचना नआएसम्म सेवा पुनः सुचारु नहुने स्पष्ट पार्नुभयो। केही दिनमा कर्मचारीलाई स सम्मान विदा गरी नयाँ व्यवस्थापनका साथ अस्पतालको सेवा पुनः संचालन गरिने जानकारी दिनुभयो ।
त्यस्तै कपिलवस्तु सामुदायिक अस्पतालका प्रशासन प्रमुख चन्द्रकान्त पोख्रेलले संस्थाको हितलाई सर्वोपरी ठानेर आफुलाई अवकाश पत्र दिएको जानकारी दिनुभयो । उहाँले शुरुवाती अवस्थादेखि नै अस्पतालको व्ययभार बढेकाले त्यसको निरन्तरता स्वरुप आर्थिक जटिलता आएकाले आउने दिनमा व्यवस्थापनको लागि केही समय अस्पतालको सेवा बन्द गर्ने निर्णय गर्दै संचालक समितिले यो कदम उठाएको र आफुपनि विदा भएको बताउनुभयो ।
जवाफदेहीता कस्काे ?
कर्मचारीहरू र स्थानीयवासीले अस्पताल घाटामा जानुको कारणको खोजी हुनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार समितिले पारदर्शिता अपनाउन नसकेको र निर्णय प्रक्रिया स्वेच्छाचारी ढंगले अघि बढाएको बताएका छन् । संस्थाको वार्षिक साधारण सभा, लेखा प्रतिवेदन, संस्था नवीकरण जस्ता कार्यहरु समयमै नहुँदा कानुनी प्रश्न समेत खडा भएको छ । यसअघि गठित अस्पतालको अवस्था सम्बन्धमा जाँचबुझ समितिले अध्ययन गरेको प्रतिवेदन समेत सार्वजनिक भएको छैन ।
२०६६ सालदेखि अस्पतालले राम्रो र सुलभ तरिकाले स्वास्थ्य सेवा दिइरहेको अस्पताल एकाएक यस्तो अवस्था हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै जनप्रतिनिधि र सरोकारवाला निकायको ध्यानाकर्षण भएको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा देखिएको यो अवस्थाले स्वास्थ्य क्षेत्रमै गम्भीर असर पार्न सक्ने देखिन्छ। अस्पतालका संचालक समिति, शेयर सदस्य, नियमन निकाय तथा सरोकारवालाले यथाशीघ्र समस्या समाधानका लागि ध्यान जान जरुरी देखिन्छ।

प्रकाशित मिति : १८ बैशाख २०८२ बिहिबार ००:००  ६ : १९ बजे