२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

अझै भेटिएन हेटौँडामा सडक भासिएर गायब भएको भ्यान



काठमाडौँ ।

हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रवार अपराह्न सडक भासिँदा सँगसँगै खसेर वेपत्ता भएको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने बोलेरो भ्यान अझै भेटिएको छैन।

अहिले पनि गाडी गायब भएपछि त्यहाँ बनेको तालबाट पानी निकाल्ने क्रम जारी रहे पनि गाडी नभेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले थाहाखबरलाई बताए।

उनका अनुसार रोकिराखिएको अवस्थामा सडक एक्कासी भासिँदा गाडी हराएको हो। गाडी भासिँदै जाँदा सो स्थानमा पानीको दह बनेको छ।

गाडीका चालक र सहचालक भने बाहिर निस्किन सफल भएकाले ज्यान जोगिएको छ। प्रत्यक्षदर्शीका अनुसार जमिन करिब ५,७ सेकेन्डमै भासिएर गाडी खसेको हो।

उक्त स्थान नजिकै माछापालनको पोखरी र बोरिङ रहेको र बोरिङकै कारण जमिन कमजोर भई भासिएको हुनसक्ने अनुमान गरिएको छ। घटना भने हिजो शुक्रवारको हो।

प्रकाशित मिति : २० बैशाख २०८२ शनिबार ००:००  ५ : २२ बजे