हरि अधिकारी, कपिलवस्तु ।
महायज्ञ सञ्चालन गरी स्थानीय समुदायको मुठीदान, शेयर, आर्थिक लगानी तथा विभिन्न दाताबाट स्थापना भएको कपिलवस्तु सामुदायिक अस्पताल सेवा बन्द भएपछि यहाँको स्थानीयबासी चिन्तित छन् । अस्पतालको सेवा ठप्प भएपछि स्थानीयबासी चिन्तित छन् भने स्वास्थ्य उपचारमा अप्ठ्यारो भएको गुनासो बढ्दो छ।
कपिलवस्तु सामुदयिक अस्पताल सञ्चालक समितिले वैशाख १७ गते सूचना टाँसी १८ गतेदेखि सम्पूर्ण सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जानकारी गराएको थियो । अथिर्क कारण देखाउदै समितिले कार्यरत सबै स्वास्थ्यकर्मीलाई अवकाश दिने निर्णय लिँदा अस्पताल सञ्चालन थप अन्यौलमा परेको छ।
तर, ४–५ महिनादेखि तलब नपाएका स्वास्थ्यकर्मीहरूले अवकाश पत्र बुझ्न मानेका छैनन्। अस्पतालका ल्याब प्रमुख युवराज टण्डनका अनुसार दैनिक २६–२७ जना स्वास्थ्य कर्मचारी कामविहीन अवस्थामा तनाव छन् र उनीहरू अस्पताल गेटबाहिर धर्नामा छन्। उनीहरूले तत्काल अस्पताल पुनः सञ्चालनको माग गर्दै पालिकासम्म समस्या लिएर गएका छन्।
यता, अस्पताल विकास समितिका महासचिव दिनेश क्षेत्रीले हाल अस्पतालको सेवा मात्र बन्द भएको र ल्याब कोठा निर्माण लगायतका कार्य सम्पन्न भएपछि पुनः सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। आन्दोलनरत कर्मचारीको तलब व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि छलफल जारी रहेको उनले बताए। हप्तादिन भित्र अस्पतालको सेवा सूचारू गर्ने तयारी गरी विभिन्न तहमा छलफल भैरहेको जानकारी दिए ।
उता सञ्चालक समितिका अध्यक्ष शिवचन्द्र आचार्यले अस्पताल सञ्चालनको विषयमा विभिन्न राजनीतिक दल, शेयर सदस्य तथा सरोकारवाला निकायहरूसँग अनौपचारिक छलफल भइरहेको बताए । नेपाली काँग्रेसको नगर समिति तहमा अस्पताल संचालन सम्वन्धमा छलफल भैरहेको अध्यक्ष आचार्यले बताए । हालको व्यवस्थापनबाट सेवा निरन्तरता सम्भव नभएकाले जेठ ३ गते विशेष साधारण सभा राखी नयाँ व्यवस्थापनको सम्भावना खोज्ने निर्णय गरिएको छ।
अध्यक्ष आचार्यले आफू उमेरले वृद्ध भएको र स्वास्थ्य समस्या रहेकोले समितिबाट अलग हुने तयारीमा रहेको पनि बताए।
यसैबीच वाणगंगा नगरपालिकाले अस्पताल सेवा बन्दप्रति गम्भीर ध्यानाकर्षण गर्दै पत्रमार्फत सञ्चालक समितिसँग प्रष्टीकरण मागेको छ। नगर प्रमुख चक्रपाणी अर्यालले पठाएको पत्रमा, अस्पताल बन्द किन, कसरी र कुन प्रक्रियाबाट गरिएको भन्ने बारे विस्तृत विवरण यथाशिघ्र पेस गर्न आग्रह गरिएको छ।
सवै पक्षको सहयोग आवश्यक
स्थानीय समाजसेवी सूर्य गुरुङले सामुदायिक लगानीबाट स्थापित अस्पताल यसरी बन्द हुनु दुःखद भएको बताए। उनले मुठीदानदेखि लिएर आर्थिक लगानीसम्म जनताको सहयोग, त्याग र भरोसाले निर्माण गरिएको अस्पताल संकटमा पर्दा समुदाय नै आहत भएको उल्लेख गरे।
स्वास्थ्य सेवा सर्वसुलभ र सुलभ बनाउने उद्देश्यले स्थापित सामुदायिक अस्पतालको सेवा अवरुद्ध हुँदा विशेष गरी गरिब, बिपन्न तथा दुर्गम क्षेत्रका समुदाय प्रभावित भएका छन्।
तत्काल सरोकारवाला निकाय, शेयर सदस्य, स्थानीय सरकार, राजनीतिक दल, स्वास्थ्यकर्मी, नागरिक समाज सबै मिलेर समस्याको समाधानतर्फ अग्रसर हुनुपर्दछ । स्थानिय समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सहकार्य र संवादबाट मात्र अस्पताल सेवा पुनः सञ्चालन आउने सम्भावना देखिन्छ।
नागरिक समाजको गम्भिर ध्यानाकर्षण
सामुदायिक अस्पतालको सेवा वैशाख १८ गतेदखि बन्द भएको प्रति कपिलवस्तु नागरिक समाजको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ३३ सय बढि शेयर सदस्य रहेको सामुदायिक अस्पताल बन्द गर्ने निर्णय त्रुटिपूर्ण र गैर जिम्मेवार भएको जनाएको छ । समाजका अध्यक्ष अर्जुन प्रसाद पोख्रेलले आज विज्ञप्ती प्रकाशन गर्दै अस्पतालको प्रशासनीक गतिविधी र आर्थिक पारदर्शिता सम्वन्धी नागरिक तहबाट गम्भिर व्यापक प्रश्न उठेको भन्दै समस्या समाधानमा सवै निकाय जिम्मेवार भई अस्पताल सेवा तत्काल सूचारु गर्न माग गरिएको छ ।

प्रतिक्रिया