१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

बाणगंगा : पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको छ । सोमबार बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा भएको एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बाणगंगालाई जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेका हुन् । जिसस प्रमुख आचार्यले जिल्लाका अन्य पालिकाको तुलनामा बाणगंगा हरेक क्षेत्रमा अब्बल सावित भएको भन्दै खुशी व्यक्त गरे । उनले नमुना नगरको रुपमा नेतृत्व गरिरहेको बाणगंगा अन्य पालिकालाई पनि संगसंगै हातेमालो गर्दै अघि बढाउन सकेमात्र समग्र कपिलवस्तुको छवि बद्लिने बताए । उनले जिल्लाका अन्य पालिकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक बजेट विनियोजन नगरेको बताए । राज्यले खोपमा ठूलो लगानी गरेको भन्दै प्रमुख आचार्यले कोरोना महामारीमा खोपको महत्व थप प्रष्ट भएको स्मरण गराए ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगाबासीलाई गुणस्तरिय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउने गरि नगरले काम गरिरहेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई नगरले प्राथमिकतामा राख्दै आएको र सोही अनुरुप बजेट विनियोजन गरेर काम भएको बताए । नगरबाट बजेट विनियोजन गरि स्वास्थ्यसंग सम्बन्धित विभिन्न अभियानहरु नगरले संचालन गर्दै आएको उनले बताए । नगरले सामाजिक क्षेत्रका धेरै सूचकहरू नगरपालिकाले घाेषणा गरिसकेकाले नगरकाे सामाजिक अवस्था सुधार भएकाे प्रमुख अर्यालले जानकारी िदए ।

उनले आगामी आर्थिक बर्षभित्र बाणगंगालाई पोषणमैत्री र पूर्ण सरसफाईयुक्त नगर घोषणा गर्ने तयारी रहेको बताए । सोही अनुसार योजनाबद्ध रुपमा नगर अघि बढेको उनको भनाई छ । उनले बाणगंगामा एक चरणको आधारभूत भौतिक पूर्वाधारहरु निर्माण भईसकेको भन्दै अब नगरको ध्यान सामाजिक क्षेत्रको विकासमा केन्द्रित रहने जिकिर गरे ।

नगर उपप्रमुख रिताकुमारी चौधरीले खोप केन्द्रलाई नगरले बर्षेनी ३० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको बताउँदै उक्त रकमलाई निरन्तरता दिईने बताईन् । उनले सबै सरोकारवालाको साँझा प्रयासले नगरलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्न सफल भएको बताईन् ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले राष्टिय अभियानलाई पालिकाले पूर्ण कार्यान्वयन गरेको बताउदै सामाजिक सूचकहरुमा उल्लेखीय प्रगति हासिल गर्न सफल भएको उल्लेख गरे । उनले मानिस जन्म लिएपछि खोप पाउनु उसको नैसर्िगक अधिकार भएकाले यी विषयहरु मानव अधिकारका विषय भएको स्पष्ट पारे । हालै मात्र २ हजार ४२८ जना बालबालिकालाई खोप लगाईएको जानकारी दिदैं कोही बालबालिका नदोहोरिएको र नछुटेको बताए ।
उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले ११ वटै वडाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष हरि अधिकारी, पिपरा अस्पतालका डा.सरस्वती भट्टराइ, खोप फोकल पर्सन दिवाकर महर्जन लगाएतले खोपमा भएको लगानी प्रभावकारी भएको बताउदै यस अभियानलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा ११ वटै वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य, नगरका स्वास्थ्यकर्मीसहितका कर्मचारी, स्वास्थ्य स्वयम्सेवीका लगायतको उल्लेख सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८२ सोमबार ००:००  ८ : ३४ बजे