८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

ओलीले भने -भारत पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानले युद्ध हुन नदिन संयमता अपनाएको भन्दै धन्यवाद दिएका छन्।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले युद्धमा जान नदिन आफूहरूले गरेको आग्रह सुनुवाइ भएको भन्दै खुशी व्यक्त गरे।

‘झण्डै झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ।’ ओलीले भने, ‘हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस्। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौं, उहाँहरूसँग पनि कुरा गर्‍यौं । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ।’

बुद्धका शिक्षा, उपदेशको विस्तारका लागि र तिनको अझ बढी व्यवस्थित बुझ्ने र बुझाउने प्रयासका लागि, खोज अध्ययन अनुसन्धानका लागि सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरेको उनको भनाइ थियो।

‘विश्वविद्यालयले बुुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानका ध्यान दिनेछ र यसमा महत्वपूर्ण योगदान पुर्याउने छ भन्ने विश्वास लिएको छु।’ उनले भने।

प्रकाशित मिति : २९ बैशाख २०८२ सोमबार ००:००  २ : १४ बजे