मायादेवी अनलाइन, तौलिहावा ।
कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नेगरी तयारी तिव्र पारिएको छ । मंगलबार जिल्ला खोप समन्वय समितीको बैठकले जिल्लालाई जेष्ठ २८ गतेसम्म पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नेगरी तयारीमा जुट्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेश जेष्ठ मसान्त भित्रै पूर्ण खोप प्रदेश घोषणा हुँदै छ सोही बमोजिम यँहाका १२ वटै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुपर्नेछ । प्रदेशलाईनै पूर्ण खोप घोषित हुन लागेपनि कपिलवस्तुलाई दबाब बढेको हो ।
बैठकमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरब ढकालले जिल्लामा पालिकाको अवस्थाबारे जानकारी गराएका थिए । ढकालले जिल्लाकै पहिलो बाणगंगालाई पूर्ण खोप सुनिश्चितता भएकोमा धन्यवाद ज्ञापन गर्दै विजयनगर र शुद्धोधन गाँउपालिकाले पनि सबै मापदण्ड पुरा गरेकाले छिटै पूर्ण खोप सुनिश्चितता घोषणा हुने बताए । कपिलवस्तुलाई विभिन्न समयमा विभिन्न आरोपहरु आउने गरेको भन्दै यसवर्ष इतिहासमै भब्य कार्यक्रम गरि जिल्लालाई पूर्ण खोप घोषणा गरिने बताए । सो अवसरमा स्वास्थ्यकर्मीसहित स्वयम सेविकालाई सम्मान गरिने बताए ।
यस्तै जिल्लाका अरु पालिकालाई पनि जेष्ठ २० गते भित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरी तयारी गरिने बताए । जेष्ठ मसान्त भित्र लुम्बिनी प्रदेशलाईनै पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिने भएकाले सोही अनुसार कपिलवस्तुलाई पनि पूर्ण खोप गराउने गरी तयारी थाल्न जिल्ला खोप समन्वय समितीका संयोजक बाबुराम आचार्यले आग्रह गरे । यस अघि मायादेवी गाँउपालिकाकै कारण कपिलवस्तु पूर्ण खोप जिल्ला घोषित हुन नपाएको भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरे । कुनैपनि बालबालिका खोप बाट छट्न नहुने भन्दै कडाईका साथ अनुगमन गर्नुपर्नेमा जोड दिए । बैठकमा जिल्ला खोप समन्वय समितीका समितीका सदस्य, विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुख, शैक्षिक तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया