२ असार २०८२, सोमबार | Mon Jun 16 2025

अनेरास्ववियुद्धारा भित्तेपात्रो विमोचन तथा बटुकहरूलाई शैक्षिक सामग्री वितरण



बाबुराम रायमाझी, जितपुर ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले आफ्नो ६१औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै भित्तेपात्रो विमोचन तथा बटुकहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

वाणगंगा नगरपालिका–९ स्थित धार्मिक तथा पर्यटकीय स्थल कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल रहनुभएको थियो। उहाँले २०८२ सालको अनेरास्ववियुको भित्तेपात्रो विमोचन गर्नुका साथै वैदिक संस्कृत गुरुकुलम कपिलधाममा अध्ययनरत २५ जना बटुकहरूलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो।

नगर प्रमुख अर्यालले विद्यार्थीहरूले समाजमा रचनात्मक र सकारात्मक योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यस किसिमका क्रियाकलापहरूलाई नगरपालिकाले समेत निरन्तर साथ र सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।

उक्त कार्यक्रममा वडा नं. ९ का अध्यक्ष कमल पौडेल, वडा नं. ७ का विष्णु गिरी, बुद्धभूमि नगरपालिका–३ का वडा अध्यक्ष गोविन्दप्रसाद आचार्य (विकास), कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य ,अनेरास्ववियुका इन्चार्ज सुन्दर पाण्डे, प्रदेश कोषाध्यक्ष अन्जित खनाल लगायतले कार्यक्रमको सभ्य तथा भव्य रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए।

कार्यक्रम अनेरास्ववियु कपिलवस्तु जिल्ला अध्यक्ष निशान खडकाले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव पारस मरासिनीले गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमाले क्षेत्र नं १९१० कमिटी सदस्य ध्रुव बेल्बासे, प्रेस चौतारी कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमले विद्यार्थी आन्दोलनको ऐतिहासिक गौरवलाई स्मरण गर्दै सामाजिक, शैक्षिक तथा संस्कृतिक क्षेत्रमा योगदान दिने भावनालाई थप सशक्त बनाउने विश्वास लिइएको थियो।

प्रकाशित मिति : २ जेष्ठ २०८२ बिहिबार ००:००  ८ : ०८ बजे