वाणगंगा । एक्कासि आएको हावाहुरीका कारण कपिलवस्तु जिल्लाको विद्युत वितरण संरचनामा क्षति पुगेको छ। हावाहुरीले गर्दा तौलिहवा, गोरुसिंगे र कृष्णनगर क्षेत्रमा दर्जनौं विद्युत पोलहरू ढलेका छन् भने विद्युत आपूर्ति समेत अवरुद्ध भएको छ। तुलनात्मक रुपमा कृष्णनगर आसपास क्षेत्रमा कम क्षति पुगेको छ ।
तौलिहवा वितरण केन्द्रका प्रमुख गौरव पाण्डेका अनुसार उक्त क्षेत्रका ५० भन्दा बढी विद्युत पोलहरु ढलेका छन्। “बिजुली अवरुद्ध भएका स्थानहरूमा पुनः आपूर्ति गर्न मर्मत कार्य तीव्र रूपमा भइरहेको छ,” पाण्डेयले जानकारी दिनुभयो। उहाँका अनुसार सम्भव भएको स्थानमा लाइन मर्मत गरी यथासक्य चाँडो आपूर्ति सुचारू गर्न प्रयास भइरहेको छ। ३३ केभी लाइनमा समस्या नभएको र ११ केभी एलटी लाइनमा बढि क्षति पुगेको पाण्डेले जानकारी दिनुभयो । भोली सम्म क्षतिको सवै विवरण आइपुग्नेछ । पहिलेकै अवस्थामा विद्युत नियमित सूचारू गर्न ५ दिन लाग्ने तौलिहवा िवतरण केन्द्रका प्रमुख पाण्डेले मायादेवी अनलाइनलाई बताउनुभयो ।
यस्तै, कृष्णनगर वितरण केन्द्रमा पनि १२ भन्दा बढी पोल ढलेको केन्द्र प्रमुख सुशिल पौडेलले जानकारी दिनुभयो। “हावाहुरीपछि केही समयका लागि विद्युत अवरुद्ध भएपनि अहिले अधिकांश स्थानहरूमा लाइन सुचारू भइसकेको छ।”

सबैभन्दा बढी क्षति तौलिहवा वितरण केन्द्र अन्तरगत कपिलवस्तु नगरपालिका आसपासमा भएको छ। त्यहाँ विद्युत पोलहरू ठूलो संख्यामा ढलेका कारण मर्मत सम्भारमा कठिनाइ आइरहेको विद्युत प्राधिकरण स्रोतले जनाएको छ। त्यस्तै गोरुसिंगे पत्थरकोट जङ्गल क्षेत्रमा पनि पोलहरु ढलेको छ । जिल्लाका विभिन्न स्थान तौलिहवा बजार क्षेत्र, घनचौरा, चार नम्बर जीतपुर, गोरुसिंगे लगाएतका क्षेत्रमा आंशिक रुपमा विद्युत आपूर्ति सूचारु भएको छ । कृष्णनगर नगर क्षेत्रमा विद्युत आपूर्ति पुनः सुचारू भइसकेको जनाइएको छ।
ठुलो हावाहुरीको कारण पोल, तार चुडिने, पिन तथा डिस्क इनसुलेटर फुट्ने लगाएतका विद्युतीय उपकरणमा क्षति पुगेको हो । विद्युत प्राधिकरणका प्राविधिक टोलीहरू अहिले क्षतिग्रस्त स्थानहरूमा खटिइरहेका छन्।
प्रतिक्रिया