२ असार २०८२, सोमबार | Mon Jun 16 2025

उत्पादनमा आधारित अनुदान दिँदै छौँः मेयर अर्याल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने गरी गृहकार्य अगाडि बढाएको बताएका छन् ।

जनतासंग मेयर कार्यक्रममा शुक्रवार बोल्दै दुध उत्पादन किसानबाट उत्पादनका आधारित अनुदान दिने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् । यसका लागि रु बीस लाख रुपैयाँ छुट्याएर काम थाल्ने योजना रहेको नगर प्रमुख अर्यालले सुनाए ।

नगरको वडा नम्बर ९ मा भएको कार्यक्रममा बोल्दै उनले वडाको पुर्वाधार, शिक्षा, कृषिको क्षेत्रमा उल्लेख काम गरेको सुनाए । बर्खायाममा वडामा पुग्न जोखिम मोल्नुपर्ने बाध्यता रहेको बताउँदै त्यसको अन्त्यको लागि दुई स्थानमा पक्की पुल बनाइएको बताए । साथै वडाका अधिकांश सडकलाई पक्कीसंगै स्तरउन्नति गरेको उनले जनाए ।

अर्यालले बैंकिङ सेवा अभावका कारण उपभोक्ताले भोगिरहेका समस्या समाधानमा प्राथमिकता दिएको बताए । साथै वडामा ल्याब सञ्चालन आवश्यक देखिएमा कक्षा कोठामा शैक्षिक पूर्वाधारको कमी, दिवा खाजाको रकम अभावजस्ता समस्या समाधानको पहल थालिएको जानकारी दिए । नगर प्रमुख अर्यालले भूमिहीन सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकता दिइएको भन्दै अगाडी भने, आगामी जेठभित्र सबै वडा नापजाँच गर्ने तयारीमा स्थानीय तह जुटेको छ, बजेट विनियोजनका प्रक्रियाहरू समेत अघि बढाइएको छ।

कार्यक्रममा वडाबासीले नगर प्रमुखले गरेको कमको प्रशंशा गरेका थिए भने सामुदायिक विद्यालयको पढाइ सुधारदेखि कृषि क्षेत्रलाई बढी ध्यान दिन सुझाव दिएका थिए ।

कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष कमल पौडेलले आफूले गरेको कामबारे जानकारी दिएका थिए ।

एवान मिडिया सेन्टरको आयोजनामा भएको जनतासंग मेयर कार्यक्रमलाई मायादेवी अनलाइनको फेसबुक पेज, मायादेवी टिभी युट्युव टिभीमा प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२ शनिबार ००:००  ८ : ५० बजे