एजेन्सी ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र अन्य देशहरूको मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गरिराख्न प्रोत्साहन मिलेको बताउनुभएको छ । रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताउनुभएको हो ।
अस्ति शनिवार रातिदेखि रुसले झन्डै चार सयवटा मिसाइल र ड्रोन आक्रमण गर्दा १२ जना नागरिकको ज्यान गएको छ । यो सन् २०२२ मा रुसले आक्रमण शुरु गरेयताको सबैभन्दा ठूलो हवाई आक्रमण भएको बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनमाथि अत्याचार गरिरहेको प्रतिक्रिया दिनुभएको छ ।
यस्तै युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताउनुभएको छ । उहाँले रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिन पनि आह्वान गर्नुभएको छ ।
यसैबीच पछिल्लो तीन दिनमा दुवै पक्षले एकअर्कालाई तीन सयभन्दा धेरै सेना फिर्ता गरेका छन् । युक्रेनी अधिकारीहरूले रुसी कैदबाट फर्किएका धेरैलाई यातना दिइएको र खानाबाट समेत बञ्चित गरिएको बताएका छन् ।
प्रतिक्रिया