दिपा महत, तौलिहवा ।
कपिलवस्तुका ४ स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन् । सोमबार शुद्धोधन गाँउपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएसंगै जिल्लाका ४ पालिका पूर्ण खोप सुनिश्चितता घोषित भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरब ढकालले बताए ।
यसरी पूर्ण खोप सुनिश्चितता घोषित हुनेमा बाणगंगा नगरपालिका (बैशाख २२ गते) , विजयनगर गाँउपालिका ( जेठ १ गते) , शिवराज नगरपालिका (जेठ११ गते ) र शुद्धोधन गाँउपालिका (१२ गते ) रहेका छन् ।
१० स्थानीय तह रहेको कपिलवस्तुमा बाकी ६ पालिका पनि घोषणाको अन्तिम तयारीमा जुटेका छन् ।
सोमबार जिल्ला समन्वय समितीमा बसेको खोप समन्वय समितीको बैठकले बुद्धभूमि, कपिलवस्तु र महाराजगंज नगरपालिका तथा यशोधारा गाँउपालिकाबाट पनि पूर्ण खोप सुनिश्चितता घोषणाको माग भएकाले अनुमति दिने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए । बाकी रहेका कृष्णनगर नगरपालिका र मायादेवी गाँउपालिकाले पनि तयारी तिव्र पारेको भन्दै यी दुई पालिकालाई पनि छिट्टै घोषणा गरिने जानकारी दिए ।
राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरु, सबै बालबालिकाहरुले पूर्ण रुपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरु थप भएमा सो समेत लिएको अवस्थामा त्यस्ता पालिका तथा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिने खोप समन्वय समितीका संयोजक बाबुराम आचार्यले बताए । जेठ मसान्तभित्र लुम्बिनी प्रदेशलाईनै पूर्ण खोप घोषणा गरिने भएकाले कपिलवस्तुका पालिकाले पनि तदारुकता देखाएका हुन् । विगतका दिनमा कपिलवस्तुकै कारण सिंगो प्रदेश पूर्ण खोप सुनिश्चत हुन नसकेको भन्दै यो वर्ष भने कपिलवस्तुका कारण समस्या नआउने संयोजक आचार्यले बताए ।

पूर्ण खोप घोषणाको लागि विभिन्न ३ आधारहरु पुरा भएको एकिन हुनुपर्दछ । १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिना भित्रै खोप पाए नपाएको पहिचान गरी वडा अनुसारको पूर्ण खोप विवरण तयार गरेको र अद्याबधिक भएको, १५ महिना मुनिका सबै बालबालिकाको हाल लिईरहेको खोपको विवरण अध्यावधिक गर्न सूचि तयार गरी खोप रजिष्टरमा वडा अनुसार विवरण अद्याबधिक भएको अवस्थामा पूर्ण खोप सुनिश्चितता घोषणा गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया