२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

बुटवल–नारायणघाट सडकखण्ड नबन्दा सौराहाको पर्यटन व्यवसाय प्रभावित



भरतपुर ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिको काम ढिलो हुँदा सौराहाको पर्यटन व्यवसाय प्रभावित भएको छ।

त्यसको प्रत्यक्ष असर सौराहाका होटल व्यवसायीमा पनि परेकाले जारी सडक स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न नेपाल सरकारसहित सम्बद्ध निर्माण व्यवसायीसँग अनुरोध गरेका छन्। क्षेत्रीय होटल सङ्घ चितवन ९हान०ले पटकपटक म्याद थप्दा पनि बाटोको स्तरोन्नति नभएकाले निर्माण कार्य पूरा गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गरेको स्पष्ट गरेको छ।

उक्त सडकखण्ड स्तरोन्नतिका कारण घन्टौँसमय सडकमा लाइनमा बस्नुपर्ने भएपछि अधिकांश सवारीसाधन असजिलै भए पनि सिद्धार्थ राजमार्ग प्रयोग गरी पोखरा जाने क्रम बढेसँगै पछिल्ला दिनमा चितवनको होटल व्यवसायसहित समग्र आर्थिक गतिविधि प्रभावित भएको पर्यटनविज्ञ डा। विश्व सुवेदीले बताए।

क्षेत्रीय होटल सङ्घ चितवनका अनुसार निश्चित ‘प्याकेज’सहित सुनौली, रुपैडियालगायतका पश्चिम नाका हुँदै नेपाल भ्रमणमा आउने अधिकांश भारतीय पर्यटक सबैभन्दा पहिला लुम्बिनीको भ्रमण गर्छन्।

आर्थिक हैसियत भएका भारतीय पर्यटकहरू यसरी बुटवल–पाल्पा–स्याङ्जा हुँदै पोखरा जान थालेका छन्। ‘हान’का अध्यक्ष रहेका ओम पाण्डेले पर्यटकीय नगरी पोखराको घुमघाम पूरा गरी मुक्तिनाथको दर्शन गरेपछि पुनः पोखरा आई पृथ्वी राजमार्ग हुँदै काठमाडौँ जान थालेपछि चितवनको पर्यटन व्यवसाय सङ्कटमा परेको बताउँदै बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिलाई यथाशक्य छिटो पूर्णता दिन अनुरोध गरे।

सौराहाको होटल व्यवसायको विकास, विस्तार र प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेका रेष्टुराँ एण्ड बार एसोसिएसन सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाले बुटवल–नारायणघाट सडकखण्डको बाटो स्तरोन्नतिले पूर्णता नपाउने, भारतीय पर्यटक बोक्ने सवारीसाधनबाट अनधिकृत रूपमा रकम असुल्ने प्रवृत्ति न्यूनीकरण तथा नियन्त्रण नहुने, विभिन्न बहानामा गरिने विरोध, आन्दोलन, जुलुस, धर्नाजस्ता व्यवसाय विरोधी गतिविधिले प्रश्रय पाइराख्ने, होटलमा ‘एसी’ र पङ्खा चल्ने क्षमतासहितको विद्युत् आपूर्ति व्यवस्था सुनिश्चित नहुने तथा जङ्गल सफारीका क्रममा चितवनको पहिचानको रूपमा स्थापित हात्तीको पालनपोषण तथा व्यवस्थापनमा उचित ध्यान नदिने हो भने सौराहासहित चितवनको पर्यटन व्यवसाय धराशायी हुने टिप्पणी गरे।

सौराहास्थित पर्यटन व्यवसायीका अनुसार सडकमा खटिएका प्रहरीले सवारीसाधन इजाजत पत्र, लाइट, वाइफर र ब्रेकको अवस्था तथा यात्रु सङ्ख्यालगायत अनेकौँ झिनामसिना विषय उठाई पैसा असुल्ने र दुःख दिने प्रवृत्ति अन्त्यका लागि भारतीय चालकहरूले सरकारसँग याचना गर्ने गरेका छन्।

पर्यटन व्यवसायीहरूले नारायणघाट–बुटवल सडकखण्डको स्तरोन्नतिको काम लम्बिदै जाने, पृथ्वी राजमार्गको यात्रा पनि भरपर्दो नहुने, भरतपुरसम्मको हवाइ भाडादर नघट्ने, ऋणमा डुबेका व्यवसायीलाई लक्षित गरी बैंकको व्याजदरमा सहुलियत नदिने, होटल–व्यवसायमैत्री ऐन, कानुन नआउने हो भने सौराहासहित चितवन आसपासका अधिकांश होटल बन्द हुने परिस्थिति सिर्जना भएकाले पर्यटन व्यवसायीको उल्लिखित गुनासोसहितको माग सम्बोधन गरिदिन सरकारको ध्यानाकर्षण गरेका छन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८२ बुधबार ००:००  २ : ३३ बजे