काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एमालेको झोले भएको र त्यसमा गर्व लागेको बताएका छन्।
सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्नुपर्नेमा उनले जोड दिए।
काठमाडौँमा आज भएको एक कार्यक्रममा उनले भने, “म एमालेको झोले हुँ। यतिभन्दा एमालेको विरोधीहरुलाई चित्त बुझ्छ होला। म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु। यसमा मलाई गर्व छ ।”
अध्यक्ष ओलीले थपे, “जेमा पनि खोट देख्ने तथा कथित आलोचनात्मक चेतबाट माथि उठ्नुस्। ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस्। तपाईंहरु बुद्धि बेचेर खाने वर्गमात्रै होइन, बौद्धिक वर्ग हो। देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस्। सही विचार बोक्नेहरुलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस्।”
एमालेले राष्ट्रिय एकतालाई सर्वोपरी ठान्ने स्पष्ट गर्दै उनले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रसाङ्गिक हुने टिप्पणी गरे।
सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बनेको दावी गर्दै उनले व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेले एकल बहुमत ल्याउन सक्ने बताए।
प्रतिक्रिया