कपिलवस्तु ।
बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । उक्त बैठक विहिबार विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।
कार्यपालिका बैठकले अघिल्लो कार्यापालिका बैठकका निर्णयहरुको समिक्षा गरेको नगरप्रवक्ता विष्णु प्रसाद पौडेलले बताए । उनका अनुसार अनुसार बैठकले कार्यपालिकाका अघिल्ला निर्णयहरुको प्रभावकारी रुपमा कार्यान्वयन र सन्तोषजनक काम भएको निष्कर्ष निकालेको छ ।
बैठकले आर्थिक बर्ष २०८२/०८३ को निति तथा कार्यक्रम आगामी असार ५ गते नगरसभा समक्ष प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले बताए । सो क्रममा विषयगत समितिका प्रतिवेदनहरु समेत प्रस्तुत गरिनेछ ।
उहाँले निति तथा कार्यक्रमका आधारमा असार १० गते बजेट प्रस्तुत गर्ने बैठकले निर्णय गरेको बताए । निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने दुवै कार्यक्रम नगरपालिकाको सभाहलमा बिहान ११ बजे हुनेछ ।
नगरप्रमुख चक्रपाणी अर्यालले निति तथा कार्यक्रम र बजेटका सम्बन्धमा यस क्षेत्रका राजनितिक दल, संघसंस्था, संचार क्षेत्र, नगरवासी तथा सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया गरिने बताउँदै नगरको विकास र समृद्धको आधार तयार पार्न आवश्यक सल्लाह, सुझाव दिन आह्वान गरेका छन् ।
नगरप्रमुख अर्यालले नगरका गौरवका आयोजनालाई निरन्तरता दिदैं पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथमिकता राखेर निति तथा कार्यक्रम र बजेट आउने बताए ।
नगर उपप्रमुख रिता कुमारी चौधरीले निति तथा कार्यक्रम र बजेट कार्यान्वयनमुखी ल्याईने जिकिर गरेकी छन् । उनले बाणगंगामा आधारभूत भौतिक पूर्वाधार निर्माणका कामहरु अधिकांश भईसकेको भन्दै अब सामाजिक विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम र बजेट आउने बताइन् ।
प्रतिक्रिया