२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

युवाशक्ति बलियो भए देश सहि मार्गमा हिड्छः सांसद पन्थी



दिपा महत, जितपुर ।

लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले युवाशक्ति बलियो भएमा मुलुक सहि बाटोमा हिड्ने बताएका छन् । युवाशक्ति देशको मेरुदण्ड भएको भन्दै पन्थीले मेरुदण्डनै खराब भएमा देश स्वत खराब हुने बताए ।

बिहिबार प्रदेश युवा परिषद विकास समितीले बाणगंगाको ठाकुरापुरमा राखेको लागु औषध तथा दुब्र्यवसन विरुद्धको कार्यक्रममा बोल्दै सांसद पन्थीले भने, ‘जुन देशका युवावर्ग शिक्षित तथा सचेत छन्, कुलतमा लागेका छैनन् त्यो देश आर्थिक तथा विभिन्न रुपमा अगाडी बढ्दछ, देशलाई विकासको गतिमा अगाडी बढाउँदै समृद्ध बनाउन युवाको भूमिका महत्वपूर्ण हुने भएकाले सचेत तथा शिक्षित युवा आजको आवश्यक्ता हो ।’ पूर्व मन्त्री समेत रहेका पन्थीले लुम्बिनी प्रदेशका युवालाई सहि मार्गनिर्देश गर्न, उनिहरुको क्षमता अभिबृद्धी गर्नुका साथै शारीरिक तथा मानसिक रुपले सक्षम बनाउन लुम्बिनी प्रदेशले प्रदेश युवा परिषद विकास समिती गठन गरेको बताए ।

यस समितीले युवालाई सक्षम बनाउने साथै लागु औषधको जंजालबाट हटाउन पनि विभिन्न काम गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । प्रदेशले युवाका विभिन्न कार्यक्रम गर्ने योजना बनाएपनि बजेटका कारण समस्या भएको भन्दै आगामी दिनमा यस्ता महत्वपूर्ण काम गर्ने बताए । परिवारमा एकजना मात्र पनि कुलतमा लागे त्यो परिवारनै तहसनहस हुने भन्दै यसतर्फ सचेत हुन आग्रह गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक लोकेन्द्र जिसीले लागु औषध तथा दुब्र्यसनी नियन्त्रण सम्बन्धी जनचेतना मुलक प्रस्तुीकरण दिएका थिए । उनले नेपालमा लागु औषध सम्बन्धी कसुरको अवस्था, नेपालमा यसको प्रयोग तथा कारोबार, यसबाट बच्ने उपाय लगाएतको बारे जानकारी गराएका थिए ।

प्रहरी निरिक्षक जिसीले पछिल्लो समय लागु औषध प्रयोगकर्ता बढ्दै गएको तथ्यांकले पनि देखाएको भन्दै यसबाट बच्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले बाणगंगामा पनि यस्ता कारोबारी तथा प्रयोगकर्ता बढेको भन्दै मोतीपुर, वनगाई, जितपुर, गजेहडा, बरवा, नन्दगनर, पिपरा, लक्ष्मणघाट लगाएतको ठाँउमा यस्को सेवनकर्ता पाईने गरेको बताए ।

प्रहरीले लागु औषध विरुद्ध विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको भन्दै समाजमा रहेका त्यस्ता प्रयोग कर्ताको पहिचान परिवारबाटै गर्न सकेमा सहज हुने बताए । कार्यक्रममा प्रदेश युवा परिषद विकास समितीका कार्यबाहक उपाध्यक्ष हंशराज खनालले परिषदले समाजका युवालाई लागु औषधबाट बचाउँदै समाजमा रहेको विबृती र विसंगतीको अन्त्य गर्ने उद्देश्यले काम गरेको बताए ।

उनले आफुहरुको लक्ष्य समृद्ध समाज निर्माण गर्नु रहेकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा हेमन्त थापाले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेका थिए । उनले यदि ईच्छाशक्ती भएमा जस्तोसुकै कुलतबाट छुटकारा पाउन सकिने भन्दै लागु औषधको जंजालमा नफस्न आग्रह गरे कार्यक्रमको संचालन शिवलाल भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८२ बिहिबार ००:००  १ : ४७ बजे