दिपा महत, तौलिहवा ।
कपिलवस्तुमा जेठ महिनामा मात्र ६८ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताए । प्रहरीको मासिक पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गर्दै अधिकारीले सवारी दुर्घटनामा १ सय १ जना घाइते भएको बताए । प्रहरीको तथ्यांक अनुसार बैशाखमा भने ७४ वटा सवारी दुर्घटना भएका छन् जुन जेठमा भन्दा बढी हो ।
प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रम गरेपनि दुर्घटनामा भने कमी आउन सकेको छैन् । दुर्घटना न्यूनिकरणका लागि प्रहरीसंगै स्वयम जनता पनि सचेत हुनुपर्ने भन्दै प्रहरीका लागि मात्र ट्राफिक नियम पालना गर्ने प्रवृती बढेको प्रहरी उपरिक्षक निरन्जनदत्त भट्टले बताए । कपिलवस्तु प्रहरीले दुर्घटना न्यूनिकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको भट्टले बताए ।
कपिलवस्तु प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको फोटो तथा भिडिओ खिचेर पठाउन आम नागरिकलाई आग्रह गरेको थियो । भिडिओका आधारमा प्रहरीले सवारी चालकलाई कारवाही गर्ने बताएपनि प्रहरीले ट्राफिक नियम उल्लंघनका भिडिओ तथा फोटोहरु प्राप्त मात्रामा नआएको बताएको छ ।
प्रतिक्रिया