२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

शिवराजले ल्यायो १ अर्ब ३४ करोडको बजेट



कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकामा आर्थिक वर्ष २०८२-०८३ का लागि १ अर्ब बढीको बजेट सार्वजनिक गरिएको छ । मंगलबार चन्द्रौटामा भएको १७औँ नगर सभामा एक अर्ब ३४ करोड ७८ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

नगर उपप्रमुख शिवकुमारी थारुले बजेट प्रस्तुत गर्दै विकासमुखी योजना तथा जनताको आवश्यकता समेटिएको बजेट रहेको बताएकी छन् । उनले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, प्रशासन र युवासँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाले सबैका लागि गुणस्तरीय र निःशुल्क शिक्षालाई प्राथमिकता दिइएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ ८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै वडा स्तरीय योजनाहरूमा १० करोड ५० लाख, स्वास्थ्य क्षेत्रमा ४ करोड, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १२ करोड ७५ लाख र कृषि विकासतर्फ ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नगरप्रमुख अजय थापाले नगर सभालाई सम्बोधन गर्दै गत वर्षमा भएका योजनाहरू र हासिल उपलब्धिहरूको विवरण प्रस्तुत गरेका थिए । नयाँ बजेट जनमुखी, समावेशी र विकासलाई लक्षित गर्दै ल्याइएको उनले बताए ।

प्रकाशित मिति : १० असार २०८२ मंगलबार ००:००  ७ : ४२ बजे