कपिलवस्तु ।
टिकटक भिडियो बनाउने क्रममा खोलामा हाम फालेर बेपत्ता भएका युवकको शव दुई दिनपछि फेला परेको छ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ स्थित बेती खोलाबाट सोमबार बेपत्ता भएका भारतीय युवक २१ वर्षीय इसहाक मुसलमानको शव बुधबार बिहान फेला परेको हो।
इलाका प्रहरी कार्यालय, पकडीका अनुसार इसहाक सोमबार दिउँसो करिब ४ बजे आफ्ना दुई साथीसँग नुहाउन गौरास्थित बेती खोलाको ड्याममा पुगेका थिए।
सोही बेला टिकटक भिडियो बनाउन उनले ड्यामबाट खोलामा हाम फाले। तर त्यसपछि बाहिर निस्कन नसकी बेपत्ता भएका थिए। उनका साथीहरूले उक्त घटनाको भिडियो खिचिरहेका थिए।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी कार्य तीव्र पारेको थियो। बुधबार बिहान करिब ७ बजे हाम फालेको स्थानभन्दा ३०० मिटर दक्षिणमा रहेको जालीमा अड्किएको अवस्थामा स्थानीयले उनको शव देखेर प्रहरीमा खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय, पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले शव सडेगलेको अवस्थामा भेटिएको जानकारी दिए। बरामद गरिएको शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भारतको सिद्धार्थनगर जिल्ला अलिगढवा घर भएका उनी शुद्धोधन गाउँपालिका२, सानो नन्दनगरस्थित आफ्नो मामाघर आएका थिए।
प्रतिक्रिया