दिपा महत, महाराजगंज ।
महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले सकरात्मक सोचको विकास नहुदासम्म समाज परिवर्तन नहुने बताएका छन् । बिहिबार महाराजगंज नगरपालिमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले राखेका प्रश्नको जवाफ दिँदै मेयर कलामले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागिले महाराजगंज नगरपालिकालाई खुल्लादिशा मुक्त घोषणा गरेपनि यसले दिगोपना पाउन नसकेको भन्दै अझैपनि केहि गाँउमा हिड्ने अवस्था नरहेको बताएका थिए । जवाफमा मेयर कलामले पालिकाले खुला दिशा मुक्त घोषणासंगै यसको दिगोपनाको लागि विभिन्न अनुगमन गरेपनि केहि ब्यक्तीले अटेर गरेर बाहिर शौच गर्ने गरेको बताए । उनले भने, ‘हामीले निकै मेहेनत गरेर पालिकासंगै सिंगो जिल्लालाई खुला दिशामुक्त घोषणा गर्यौ, यहा मानिसले २, ३ तल्लाको घर बनाएका छन् तर उनिहरु संग शौचालय बनाउने पैसा छैन, घरमा शौचालय भएकापनि खुला ठाँउमा शौच गर्दछन् परिवर्तन आफैबाट सुरु गरौ सोच सकरात्मक बनाऔं बल्ल समाज परिवर्तन हुन्छ ।’
पालिकाले खेल मैदानका लागि योजना बनाएपनि यसकालागि जग्गाको समस्या रहेको बताए । ठूलो योजनाहरु हचुवाको भरमा बनाउन नमिल्ने भन्दै त्यसको दिर्घकालिन योजना बनाएर काम गर्ने बताए । महाराजगंज नगरपालिकामा भौतिका विकासको काम तिव्र रुपमा भएको भन्दै सामाजिक विकासलाई पनि प्राथामिकतामा राखेर काम गर्ने बताए । जानकी विद्यालयमा प्राविधिक धारको अध्ययन हुने भएकाले त्यहाको गुणस्तरलाई अझ बृद्धि गर्नेगरी काम गरिने बताए । मेयर कलामले भने, ‘हामीले त्यहा अध्ययन गर्ने सबैलाई रोजगारीको ब्यवस्था गर्न सकेका छैनौ तर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गराएका छौ अबका दिनमा प्रतिस्पर्धामा आउने तपाईहरु हो ।’

नगरपालिकाले समानरुपले विकासनिर्माणका काम गरेको भन्दै यसमा कोही नागरिकलाई पनि काखापाखा गर्ने काम नगरेको बताए ।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले महाराजगंज नगरपालिकाले उपलब्ध स्रोत साधनको प्रयोग गरी भौतिक प्रगती उल्लेखनीय रुपमा गरेको बताए । भौतिक विकासले मात्र नहुने भन्दै खेलकुद, पर्यटन तथा सामाजिक विकासलाई पनि ध्यान दिएर काम गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी तामाङले मलखाद्य राष्ट्रिय समस्या भएकाले वास्तबिक कृषकले एक दुई बोरा मल ल्याउदैमा प्रहरी प्रशासन बाट रोकटोक नहुने बताए । नागरिक बिना बर्दीको प्रहरी भएकाले प्रहरीबाट दुख दिएमा सुचना दिन आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टले ९० प्रतिशत प्रहरीपनि कृषककै छोराछोरी भएकाले कृषकलाई दुख दिने नियतले काम नगरेको बताए । मलखादको विषयमा विचौलियाले कृषकको प्रयोग गरेर भारतबाट मल ल्याउने गरेको पाइएकाले मलखाल नियन्त्रणमा लिएको प्रष्ट पारे ।

यदि नियतबस कुनै प्रहरीले दुख दिने काम गरेको भए आफुहरुलाई खबर गर्न आग्रह गर्दै त्यस्ता प्रहरीलाई कारवाही गरिने बताए । महाराजगंजमा ट्राफिक ब्यवस्था अस्तब्यस्त रहेको भन्दै यस तर्फ पनि सचेत बन्दै ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे । समाज परिवर्तनको लागि प्रहरीको एक्लो प्रयासले मात्र केहि नहुने भन्दै जनता स्वयम सचेत बन्नुपर्ने बताए ।
सिमानाकामा हुने तस्करी नियन्त्रणका लागि प्रहरी अग्रसर रहेको भन्दै कुनैपनि बाहानामा तस्करी सैह्य हनुने उल्लेख गरे ।
सार्वजनिक सुनुवाई कार्यक्रममा महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले नगरपालिकाको विकासनिर्माणको अवस्था संगै प्रगती प्रतिबेदन प्रस्तु गरेका थिए । प्रमुख रेग्मीले गुणस्तर बृद्धीको लागि भौतिक संरचनाको विकास पनि आवश्यक रहेको भन्दै अब गुणस्तरमा जोड दिने बताए ।
नगरपालिकामा भौतिक विकास संगै शिक्षामा भएका कामलाई नजरअन्दाज गर्न नमिल्ने बताए । पालिकाले ५ वटा विद्यालयमा कक्षा घटुवा गरेको गरेको भन्दै एउटा विद्यालयलाई समायोजन गरेको बताए। अब दरबन्दी मिलानको समस्या छ यसको लागि पनि पालिकाले विशेष पहल गर्ने छ ।

घर आगँन, नाला बाटोको सरसफाई गर्ने कर्तब्य स्वयम सोही ठाँउको ब्यक्तिको भएपनि यस्ता काममा स्थानीय सक्रिय नभएको गुनासो गरे । पसलले डस्टबिन नराख्ने, घर अघिको फोहर नफाल्ने लगाएतका समस्या रहेको भन्दै सरसफाई स्वयम ब्यक्तीका लागि भएको बताए । ठूला योजनासंगै समाजमा चेतनाको स्तर बृद्धि गर्नुपर्ने अवस्था रहेको बताए । अबका योजनामा शिक्षा, स्वास्थ्यलाई पनि विशेष प्राथामिकतामा राखेर काम गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महाराजगंज विकासनिर्माणका हिसाबले अगाडी बढेको भन्दै अबका दिनमा शिक्षा स्वास्थ्यसंगै दिगोपनालाई कायम गर्दै लैजाने बताए । साथै स्थानीय जनतापनि स्वय सचेत बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय सोमाई प्रसाद यादव, विजय प्रताव, सद्दाम मुसल्वान, कार्यपालिका सदस्य उषा रैदास, प्रचण्ड मिश्र लगाएतले पालिकालाई शिक्षाको गुणस्तर संगै खेलमैदान को ब्यवस्था गर्न, स्वरोजगार बनाउने गरी योजना बनाएर काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना, महारागंज नगरपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको हो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईको स्वागत मन्तब्य रहेको थियो भने उपाध्यक्ष दिपा महतले नागरिक तथा बर्हिरगमन प्रतिबेदन प्रस्तुत गरेकी थिइन् संचालन सचिव सनिउल्ला धोबीले गरेका थिए ।
कार्यक्रममा महाराजगंज नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी, कर्मचारी लगाएत स्थानीयको सहभागिता रहेको थियो ।


प्रतिक्रिया