बाबुराम रायमाझी, जितपुर ।
वाणगंगा नगरपालिका–९ स्थित सगरमाथा बिधा मन्दिरमा आयोजित एक विशेष समारोहमार्फत माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा बधाई प्रदान गरिएको छ।२०६१ सालमा स्थापना भई २०७३ सालदेखि एसईई परीक्षा दिन थालेको विद्यालयले यसपटक ऐतिहासिक सफलता हात पारेको हो। २०८१ सालको परीक्षामा सहभागी भएका सबै १९ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जसमा ४ जना विद्यार्थीले A+ (ए प्लस), १३ जनाले A (ए), र २ जनाले B+ (बी प्लस) ग्रेड हासिल गरेका छन्।
समारोहका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कमल पौडेलले सगरमाथा बिधा मन्दिरलाई वडामै अग्रणी शैक्षिक संस्था भएको उल्लेख गर्दै यसको सफलताको श्रेय विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको दक्षता र अभिभावकहरूको जिम्मेवारीपूर्ण भूमिकालाई दिएको बताए। उनले थपे, “शिक्षा क्षेत्रको समग्र उन्नतिमा सगरमाथा बिधा मन्दिरले अनुकरणीय कार्य गर्दै आएको छ।”
विद्यालयका प्रधानाध्यापक छत्रमणि पाण्डेले परीक्षामा सफलता प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै भविष्यमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरेका थिए सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोम बहादुर खत्रीले सफल विद्यार्थी तथा उनीहरूका अभिभावकलाई बधाई ज्ञापन गर्दै विद्यालयको शैक्षिक यात्रामा अझ सशक्त साथ–सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।
कार्यक्रममा सञ्चालक समिति सदस्यहरू बाबुराम रायमाझी, दिपक कुँवर लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।समारोहमा शिक्षक बसन्त खनालको सहजिकरणमा सम्पन्न भएको थियो।स्थानीय समुदायमा विद्यालयले देखाएको उन्नति र विद्यार्थीहरूले हासिल गरेको सफलता प्रति खुशी प्रकट गर्दै कार्यक्रममा सहभागी अभिभावक, शिक्षक तथा अतिथिहरूले विद्यालयको आगामी यात्रामा निरन्तर प्रगतिको कामना गरेका थिए ।
विद्यालय परिवारले यस्तो सफलता निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा नैतिक विकासमा थप ध्यान दिने योजना रहेको जनाएको छ।
प्रतिक्रिया