२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

वाणगंगा नगरपालिकाको इतिहासमा नयाँ रेकर्ड : लागत सहभागीता, राजश्वदेखि सामाजिक अभियानसम्म



हरि अधिकारी, कपिलवस्तु ।

वाणगंगा नगरपालिकाले समावेशी, पारदर्शी र सहभागितामूलक विकासको नमूना प्रस्तुत गरेर स्थानीय शासन प्रणालीमा नयाँ अध्याय थपेको छ। संघीय तथा प्रदेश सरकारले घोषणा गरेका विभिन्न सामाजिक अभियानलाई आत्मसात् गर्दै वाणगंगाले सोही अनुरूप कार्यान्वयनलाई प्राथमिकता दिएको हाे। चालु आर्थिक वर्षमा नगरपालिकालाई पोषणमैत्री र पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणाकाे तयारी अन्तिम चरणमा पुगेको छ। सामाजिक रूपान्तरणका महत्वपूर्ण सूचकहरूमा प्रदेशमै उत्कृष्ट बन्ने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताउनुभयो । गत आ.ब.मा ०.७५ प्रतिशत बेरूजु, आन्तरिक आम्दानी, राजश्व बृदि लगाएतका सकारात्मक सूचक पनि समावेश छन् । विगत वर्षका बेरूजुलाइ संमपरिक्षण गर्दै घटाउदै लगिएकाे छ ।

नगरपालिकाले समाज रूपान्तरणका सरकारी अभियानहरू पूर्ण कायार्न्वयन गरेको छ । जस अनुरूप बालमैत्री तथा बाल श्रम शोषणमुक्त नगरपालिका घोषणाको कार्यान्वयन सम्पन्न भइसकेको छ। यसले यसअघि घोषणा भएका अन्य सामाजिक सूचकलाई पनि टेवा पुग्ने बताउनुभयो ।किशोर किशोरी मैत्री, महिला मैत्री, प्लाष्टिकमुक्त नगरपालिका, उज्यालो नगरपालिका जस्ता अभियानलाइ पूणर्ता दिने अभियान छ । अभियानलाई सफल बनाउन नगरवासी, राजनीतिक दल, कर्मचारी तथा सरोकारवालाहरू एकै मञ्चमा उभिनुपर्ने धारणा व्यक्त गरिएको छ।

नगरपालिकाका अधिकृत मरासिनीले राजश्व सुधार योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गरे नगरको सामाजिक–आर्थिक अवस्था उल्लेखनीय रूपमा उकासिने र आत्मनिर्भरतातर्फ उन्मुख हुने दाबी गर्नुभयो ।

पूर्वाधार विकास र सिप अभिवृद्धि

यस आबमा नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिएको छ। १५ किलोमिटर कालोपत्रे सडक निर्माण, १४ किमी सडक स्तरोन्नति, १४ किमी सिँचाइ नहर निर्माण, झोलुंगे पुल निर्माण लगायतका काम सम्पन्न भएका छन्।

चालु वर्षमै १ हजार जनाले सिप विकास तालिम प्राप्त गरिसकेको तथ्यांक उल्लेख गरिएको छ, जुन हालसम्मकै उच्चतम उपलब्धि हो। अब तालिमलाई व्यवहारमा उतार्न र नागरिकलाई सक्रिय बनाउन जोड दिइएको छ।

अन्तरनिकाय समन्वय र बजेटको इतिहास

वाणगंगा नगरपालिकामा चालु आ.ब. २०८१।०८२ मा अन्तरनिकाय समन्वय अन्तर्गत संघ र प्रदेश सरकारबाट अहिलेसम्मकै उच्चतम बजेट प्राप्त भएको छ। सामुदायिक बन र सहकारी सँगको समन्वय, सहकार्य उच्चतम रहेको जनाइएको छ । जनसहभागिताको अभिबृदि गर्दै श्रमदान बाहेकको ७ करोड रुपैयाँभन्दा बढीको लागत सहभागीताको योगदानले वाणगंगालाई उचाइमा पुरयाएको छ।

पर्यटन, कृषि र शिक्षा क्षेत्रको उल्लेखनीय प्रगति

स्थानीय कला र सांस्कृतिक धरोहरलाई पर्यटनसँग जोडेर स्थानीय रोजगारी, आत्मनिर्भरता र सांस्कृतिक गौरवको जगेर्ना गर्ने उद्देश्यसहित योजना कार्यान्वयन भइरहेको छ। पर्यटन गुरुयोजना कार्यान्वयन सुरु भइसकेको छ, संघ र प्रदेश सरकारको समपूरक बजेट लगानीसहित निति कार्यक्रम अघि बढेको छ । भू–उपयोग नीति अवलम्बन गरी कृषि, पशुपालन, उद्योग, लघु उद्यम क्षेत्र आदिलाई आधार बनाएर समृद्धिको बाटो रोजिएको छ। दुध उत्पादनमा नगरपालिका आत्मनिर्भर भइसकेको छ, अब सार्वजनिक घोषणा तयारी हुँदैछ। एसईईको उत्कृष्ट नतिजाले शिक्षाको क्षेत्रमै पनि नगरको प्रतिष्ठा बढाएको छ। अब गुणस्तर सुधारमा केन्द्रित योजनाहरू सुरु गरिएको छ।

स्वास्थ्य र समृद्धि अभियानमा नेतृत्वको दाबी

पिपरा अस्पतालको सेवा विस्तार संगै स्वास्थ्यका आधारभूत सूचकहरू पूरा गर्दै भौतिक पूर्वाधारको विकासमा जोड दिइएको छ। वाणगंगा नगरपालिकाले ूसामाजिक अभियान, सुशासनयुक्त पूर्वाधार, र जनसहभागितासहितको समृद्धिू को नमूना पेस गर्दै कपिलवस्तु मात्र होइन, प्रदेशमै नेतृत्व लिने लक्ष्यमा काम गरिरहेको प्रष्ट पार्नुभयो ।

अन्तरनिकाय समन्वय र उच्चतम बजेट विनियोजन

विकास निर्माणमा वाणगंगा नगरपालिकाले उल्लेखनीय फड्को मारेको छ। चालु आर्थिक वर्षमा चालु आ.ब. २०८१।०८२ मा वाणगंगा नगरपालिकाले अन्तर निकाय समन्वय अन्तर्गत प्रदेश र संघ सरकारबाट हालसम्मकै उच्च बजेट प्राप्त गर्न सफल भएको छ, जुन नगर इतिहासमै पहिलोपटक हो।

गौरवका आयोजना र आगामी लक्ष्य

नगरपालिकाको स्थापना कालदेखि उठाइएको गौरवका आयोजनाहरूको कार्यान्वयनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई भदौसम्म पुरा हुने बताइएको छ। वाणगंगा नगरपालिकाले नीति, विधि र प्रविधिको समन्वयमा जनसहभागितालाई समेट्दै स्थानीय शासन प्रणालीमा उत्तरदायी, समावेशी र दिगो विकासको उत्कृष्ट नमूना प्रस्तुत गरेको छ। वाणगंगा नगरपालिकाले आर्थिक पारदर्शिता, सामाजिक समावेशीकरण, सुशासन र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउँदै प्रदेशमै उदाहरणीय नगरपालिका बन्ने दिशामा ठोस कदम चालेको छ।

ब्रान्ड वाणगंगा, विलिभ वाणगंगा

वाणगंगा नगरपालिकाले अघिल्लो वर्षदेखि दिर्घकालिन सोचको रूपमा ल्याएको ‘ब्रान्ड वाणगंगा, विलिभ वाणगंगा’ बाट सकारात्मक प्रभाव देखाएको दाबी गरिएको छ। नगरपालिका स्रोतका अनुसार, विगतको तुलनामा जनताको खुशीका सूचकहरूमा २५ प्रतिशतले वृद्धि भएको देखिएको छ। नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सफा वातावरण, नागरिक सेवा सुविधा, सामाजिक सुरक्षा र नागरिक सहभागिता जस्ता ‘खुशीका सूचक’ को आधारमा मापन गर्दा यो उपलब्धि हासिल भएको जनाइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीका अनुसार, यो रणनीति केवल नारामा सीमित नभई नीतिगत सुधार, सुशासन, र जनसहभागिता मार्फत व्यवहारमा आधारित परिवर्तन ल्याउने अभियान हो ।

शुक्रबार नेपाल पत्रकार महासंघको समन्वयमा वाणगंगा नगरपालिकाले आयोजना गरेको चालु आ.ब.को अन्तिम सार्वजनिक सुनवाई कार्यक्रममो प्रमुख प्रशासकीय अधिकृत मरासिनीले उक्त विवरणहरु तथ्य सहित सार्वजनिक गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ असार २०८२ शनिबार ००:००  १० : ०० बजे