२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बाणगंगाद्धारा एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए प्राप्त गर्ने छात्र–छात्राहरुलाई नगदसहित सम्मान गरेको छ । शुक्रबार नगरपालिकाले एक भव्य समारोहकाबीच ४ जिपिए ल्याउने १६ जना छात्र–छात्राहरुलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिकाभित्रका विद्यालायहरु बुटवलका भन्दा अब्बल रहेको दाबी गर्नुभयो । शैक्षिक गुणस्तरीयता, भौतिक पूर्वाधार विकास, शैक्षिक जनशक्ति लगायतका हरेक पक्षमा बाणगंगाका विद्यालय अब्बल रहेको उहाँको भनाई छ ।

अहिले बाणगंगाका विद्यालयहरुले प्राप्त गरेको नतिजालाई दिगो रुपमा कायम गर्न चुनौति रहेको भन्दै सबै विद्यालयहरुलाई अहिलेबाटै हालको भन्दा उत्कृष्ट ल्याउने गरि लाग्न आग्रह गर्नुभयो । त्यसका लागि नगरले गर्नुपर्ने हरेक तवरको सहयोग गर्न नगर प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । उपप्रमुख रिता कुमारी चौधरीले आफ्ना छोराछोरीलाई अध्ययन गराउनकै लागि बुटवल, काठमाडौं धाउनुपर्ने अभिभावकको बाध्यतालाई बाणगंगाका विद्यालयहरुले अन्त्य गरिदिएको भन्दै खुशी व्यक्त गर्नुभयो । एसइईको नतिजाबाटै बाणगंगाका शैक्षिक संस्थाहरु गुणस्तरिय शिक्षा दिन सक्षम रहेको पुष्टि भएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले ४ जिपिए ल्याउने विषय प्राविधिक कुरा भएको भन्दै आफ्नो क्षमतालाई बुझेर मात्र आगामी अध्ययनको यात्रा तय गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सकारात्मक परिणामको कदर स्वरुप नगरले सम्मान कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनता मावि पिपराका प्रअ रमेश पन्थी, ज्ञानपुञ्ज ईग्लिस बोर्डिङ स्कुलका प्रअ सुरेन्द्र पाण्डे र बाणगंगा मावि लौगाईका प्रअ कुलराज पौडेलले कपिलवस्तु जिल्लामा बाणगंगा नगरपालिका शैक्षिक हबका रुपमा रहेको भन्दै अब बाणगंगालाई प्रदेशकै शैक्षिक हबको रुपमा विकास गर्ने आधार तयार हुदैं गएको बताउनुभएको थियो ।

यस्ता कार्यक्रमले शैक्षिक क्षेत्रप्रति विद्यार्थी, अभिभावक र समाजको चासो जगाउन अहम भूमिका निर्वाह गर्नुका साथै विधार्थीहरुमा थप विश्वास र ऊर्जा थप्ने उहाँहरुको अपेक्षा छ ।

त्यसैगरी, बाणगंगा नगरपालिकालाई “दुधमा आत्मनिर्भर नगर“ घोषणातर्फ अग्रसर गराउन महत्वपूर्ण सहयोग पुर्‍याउने विभिन्न सहकारी संस्थाहरू तथा व्यक्तित्वहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको छ । “विलिभ बाणगंगा ब्राण्ड बाणगंगा” को अभियानलाई सार्थकता प्रदान गर्ने क्रममा स्थानीय उत्पादनमा वृद्धि गर्न सक्रिय भूमिका निर्वाह गर्ने साझेदारहरूको योगदानको कदर गर्दै नगरपालिकाले प्रशंसापत्रसहित सम्मान गरेको हो ।

प्रकाशित मिति : २७ असार २०८२ शुक्रबार ००:००  ८ : २९ बजे