कपिलवस्तु ।
बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को सामाजिक सुरक्षा बाहेकका कार्यक्रमहरूमा भएको बजेट खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिकिकरण कार्यक्रम अन्तर्गत नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा विनियोजित १ अर्ब ३० करोड रुपैयाँ बजेटमध्ये ८२.९१ प्रतिशत बजेट खर्च भएको छ ।
सार्वजनिक तथ्यांकअनुसार चालु खर्च अगाडि र पुँजीगत खर्च तुलनात्मक रूपमा कम देखिएको छ । चालु खर्चतर्फ ८७.०२ प्रतिशत बजेट खर्च गरिएको नगरपालिकाले जनाएको छ । यसमा तलब, सेवा सुविधा, प्रशासनिक खर्च लगायतका नियमित खर्चहरू पर्दछन् । त्यस्तै, पुँजीगत खर्चतर्फ ७८.८० प्रतिशत खर्च भएको छ । जसअन्तर्गत पूर्वाधार निर्माण, विकास निर्माण, योजना कार्यान्वयन जस्ता दीर्घकालीन कार्यक्रमहरू समावेश छन् ।
कुल बजेट खर्चको प्रगति यस आवमा ८२.९१ प्रतिशत रहेकोमा गत आवमा ८२.९९ प्रतिशत रहेको थियो । लेखा शाखा प्रमुख केशवराज गैरेले यो खर्च प्रगति अन्य पालिकाको तुलनामा सन्तोषजनक प्रगति भएको बताउनुभयो । उहाँले खर्च प्रगतिले योजनाको कार्यान्वयन, सेवा प्रवाहको गति, र समग्र कार्यसम्पादनमा सुधार भएको संकेत गर्ने बताउनुभयो ।
नगर प्रमुख चक्रपाणी अर्यालले आगामी वर्षमा योजनाको छनोटदेखि कार्यान्वयनसम्म आमनागरिक सहभागिता अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।







प्रतिक्रिया