२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

वाणगंगा ९ को कोइली पुल समयअघि नै निर्माण सम्पन्न, स्थानीय खुशी



बाबुराम रायमाझी, जितपुर ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–९ स्थित कोइली खोला (ख) मा निर्माण सम्पन्न भएको नयाँ पुल सञ्चालनमा आएपछि स्थानीयवासीहरूमा खुशी छाएको छ। निर्माण कम्पनीले सम्झौताअनुसारको दुई वर्षको समयसीमाभन्दा झण्डै १५ महिना अघिनै काम सम्पन्न गरेपछि पुल छिट्टै सञ्चालनमा आउनुका कारणले जनतामा ठूलो उत्साह देखिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशको योजनाअन्तर्गत निर्माणको जिम्मा लिएको श्रेष्ठ एन्ड एन।बी। जेभी बुटवल कम्पनीले नौ महिनामै काम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख नारायणप्रसाद भुसालका अनुसार निर्माण कार्यमा कुनै ढिलाइ नगरी उच्च गुणस्तरमा काम सम्पन्न गरिएको बताए ।

निर्माण कार्यमा सडक पूर्वाधार विकास कार्यालय, कपिलवस्तु मार्फत सुरु गरिएको आयोजनालाई स्थानीय सडक पुल कार्यक्रम, ललितपुरले प्राविधिक सहयोग प्रदान गरेको थियो। साइट इन्चार्ज हरि अर्यालका अनुसार निर्माणका सबै मापदण्ड पालना गर्दै काम सम्पन्न गरिएको छ ।
कोइली खोला (ख) को पुल ७३.५ मिटर लम्बाइ र १० मिटर चौडाइको बनाइएको छ। यो पुल बनगाई–मोतिपुर–भलवाड–डोहोटे सडक खण्डमा पर्दछ। यसअघि वर्षायाममा खोलामा पानीको बहाव अत्यधिक हुने भएकाले आवतजावत अत्यन्तै जोखिमपूर्ण बन्दै आएको थियो। वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालका अनुसार, यो पुलले वर्षायाममा सहज यात्रा सुनिश्चित गर्नेछ र स्थानीय जनजीवनमा ठूलो सहजता ल्याउने छ ।

पुलमार्गले पूर्व–पश्चिम राजमार्गलाई वाणगंगा नगरपालिकाका विभिन्न वडाहरू हुँदै अर्घाखाँचीको शीतगंगा नगरपालिका १२ अन्तर्गत पर्ने डोहटे गोरुसिँगे–सन्धिखर्क सडकसँग जोडिन्छ ।यसले स्थानीय मात्र होइन, क्षेत्रीय यातायात सञ्जालमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै व्यापारिक प्रवाहमा समेत गतिशीलता ल्याउने स्थानीय व्यवसायीहरूको विश्वास छ।
पुल निर्माणको कुल अनुमानित लागत रु११ करोड ४९ लाख २ हजार ८ सय ९ मूल्य अभिवृद्धि करसहित रहेको छ ।

वाणगंगा ९ को कोइली (ख) पुलको सफल र समयमै सम्पन्न निर्माण कार्यले स्थानीय विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने देखिएको छ। यो पुलले स्थानीय–क्षेत्रीय समृद्धिका लागि एउटा नयाँ ढोका समेत खोलिदिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२ सोमबार ००:००  ७ : ०३ बजे