भलवाड ।
कोइलिचौर साना किसान सामुदायिक वनको आयोजना तथा ओम राजश्री मल्टिएग्रो प्रा ली काठमाडौंको प्राविधिक सहयोगमा थाकलको पात र मकैका खोस्टाबाट बन्ने हस्तकला सामग्री उत्पादनसम्बन्धी ३० दिने सीपमूलक तालीम तथा निःशुल्क खानेपानी मिटर वितरण कार्यक्रम भव्य रूपमा शुभारम्भ गरिएको छ ।
कार्यक्रमको उद्घाटन डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत ईश्वरी प्रसाद पौडेलले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला वन अधिकृत पौडेलले परम्परागत सोच र अभ्यासलाई क्रमशः परित्याग गर्दै आधुनिक प्रविधि र सीपको प्रयोगमार्फत आयआर्जनमा जोडिनुपर्ने आवश्यकता औँल्याउनु भएको थियो । उहाँले सामुदायिक वनका उपभोक्ताहरूले उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै आत्मनिर्भर बन्ने खालका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उक्त तालीममा कोइलिचौर साना किसान सामुदायिक वनका उपभोक्तामध्ये ३० जनाको सहभागिता रहेको छ । तालीममार्फत थाकलको पात तथा मकैका खोस्टा जस्ता स्थानीय कच्चा पदार्थ प्रयोग गरी विभिन्न हस्तकला सामग्री उत्पादन गर्ने सीप प्रदान गरिने आयोजकले जनाएको छ । यसले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि तथा वाणगंगा नगरपालिका वडा अध्यक्ष कमल पौडेलले सीपमूलक तालीमले व्यक्तिलाई आत्मनिर्भर बनाउने भन्दै सहभागीहरूले तालीमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा संगम टोल विकास संस्था भर्तापुरका अध्यक्ष हरीबहादुर खनाल, संस्थाका पूर्व अध्यक्ष हरिराज घिमिरे, ओम राजश्री मल्टि एग्रोका संचालक युवराज गैरे, कलाकार पूर्णचन्द्र परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कोइलिचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी नारायण खनाल, सब–डिभिजन वन कार्यालय गोरुसिङ्गेका प्रमुख मोतीलाल पौडेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष माधुरी सेन वलीले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव सुष्मा थापाले गर्नुभएको थियो ।
स्थानीय स्रोत र सीपलाई प्रयोग गरी आर्थिक सशक्तीकरणतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सामुदायिक वन उपभोक्ताहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।







प्रतिक्रिया