२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

मालपोत र नापीमा विचौलिया निषेध, सेवाग्राहीबाट रकम असुली हुने प्रथा अन्त्य हाेला ?



वाणगंगा । कपिलवस्तु स्थित मालपोत तथा नापी कार्यालयहरूले विचौलिया मार्फत काम गराउने प्रथालाई अन्त्य गर्दै सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिने व्यवस्था लागू गरेका छन्। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनअनुसार सेवाप्रवाहलाई पारदर्शी, चुस्त र प्रभावकारी बनाउन यस्तो कदम चालिएको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतको मालपोत कार्यालय र नापी विभागअन्तर्गतको नापी कार्यालय कपिलवस्तुले छुट्टाछुट्टै सूचना जारी गर्दै कार्यालयभित्र विचौलियाको प्रवेश निषेध गरिएको जनाएका छन्। अब सेवाग्राहीले आफ्ना कामका लागि अनाधिकृत व्यक्तिको सहारा लिनु नपर्ने र आवश्यक कागजातसहित सिधै कार्यालयमा उपस्थित भएर सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

सूचनामा कार्यालयभित्र परिचय खुल्ने कागजातका आधारमा मात्र प्रवेश दिइने तथा अनाधिकृत व्यक्तिलाई सरकारी अभिलेख तथा कागजातमा पहुँच नदिने स्पष्ट उल्लेख गरिएको छ। यस कदमले विगतमा मालपोत र नापी कार्यालयमा देखिँदै आएको विचौलिया सक्रियता तथा अनावश्यक खर्च नियन्त्रणमा आउने विश्वास गरिएको छ।

सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन दिएको निर्देशन कार्यान्वयनका रूपमा यी कार्यालयहरूले सूचना जारी गरेका हुन्। सेवाग्राहीबाट अतिरिक्त रकम असुली हुने प्रथा अन्त्य गर्ने लक्ष्यसहित लागू गरिएको व्यवस्थाले नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

सरोकारवालाहरूले सरकारको यो पहललाई सकारात्मक कदमका रूपमा लिँदै यसको प्रभावकारी कार्यान्वयनमा नागरिक स्वयं पनि चनाखो हुनुपर्ने बताएका छन्। प्रारम्भिक चरणमा सार्वजनिक सूचनामार्फत जानकारी गराइनु सराहनीय भए पनि आगामी दिनमा व्यवहारमै पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ।

प्रकाशित मिति : २० चैत्र २०८२ शुक्रबार ००:००  ७ : २५ बजे