कपिलवस्तु ।
रेबिज रोग तथा भुसिया कुकुरको नियन्त्रण गर्ने उद्देश्यले यशोधरा गाउँपालिका–४, परसोहीमा २ दिने सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरिएको छ। वाईसिएसए नेपालको प्राविधिक सहयोग तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा उक्त अभियान सम्पन्न गरिएको हो।
अभियान अन्तर्गत करिब १३० वटा कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिज विरुद्धको सुइ समेत लगाइएको केन्द्र प्रमुख डा। सुकई प्रसाद चौधरीले जानकारी दिए। उनले सरकारले सन् २०३० भित्र रेबिज रोग उन्मूलन गर्ने लक्ष्यअनुसार यस्ता अभियान सञ्चालन भइरहेको बताए।
उनका अनुसार बन्ध्याकरणपछि कुकुरको संख्या नियन्त्रणमा आउने, उनीहरू आक्रामक नहुने तथा सडक दुर्घटनाको जोखिम पनि घट्नेछ। आसपासका क्षेत्रबाट कुकुर संकलन गरी बेहोस बनाएर भाले र पोथी दुबैको बन्ध्याकरण गरिएको थियो। साथै बन्ध्याकरण गरिएका कुकुरको देब्रे कानमा पहिचान चिन्ह पनि लगाइएको छ।
वाईसिएसए नेपालका डा. बिरेन्द्र श्रेष्ठको नेतृत्वमा टोलीले कुकुर संकलन तथा बन्ध्याकरण कार्य सम्पन्न गरेको हो। उनले रेबिजबारे जनचेतनाको कमीका कारण समाजमा धेरै भ्रम रहेको भन्दै सचेतना फैलाउन आवश्यक रहेको बताए।
त्यस्तै डा। गंगा यादवले यस्ता कार्यक्रम सबै पालिकामा विस्तार गर्नुपर्ने र रेबिज सम्बन्धी जनचेतना अभिवृद्धि गर्न जरुरी रहेकोमा जोड दिए।
यो अभियानले रेबिज नियन्त्रणसँगै सामुदायिक कुकुर व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया