३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सैनामैना चक्रपथको निर्माण सुरु



बुटवल, वैशाख ३ गते । नेपालको सबैभन्दा लामो सैनामैना चक्रपथ निर्माण कार्य सुरु भएको छ । काम अझै दुई वर्षपछि मात्रै पूरा हुने भएको छ । करिब २० किलोमिटर बाँकी रहेको चक्रपथ निर्माणको कामका लागि गएको गएको चैत ३० गते शिलान्यास भएको छ । यो आयोजना ९३ करोड १९ लाख ७६ हजार ६३१ रुपियाँमा निर्माण सम्पन्न हुने बताइएको छ । 

सैनामैना चक्रपथ अन्तर्गत यसअघि कुल ५७ करोड १२ लाख रुपियाँको लागतमा ४५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ । उक्त क्षेत्रमा १३० वटा कल्भर्ट र आठ पुल निर्माण सम्पन्न भइसकेको छ । अब सैनामैना नगरपालिकाको वडा नं. १० फचकापुरमा कुल ६५ किलोमिटरमध्ये बाँकी १९ किलोमिटर ६५० मिटर सडक आयोजनाको शिलान्यास गरिएको हो । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नेपालकै ठुलो रिङरोड सैनामैना चक्रपथ रहेको उल्लेख गर्दै यो आयोजना सम्पन्न भएपछि सैनामैनाको विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो । 

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ देखि ११ वडासम्म छुने यो चक्रपथ २०७४ को जेठमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो भने २०७८ सालसम्ममा पूरा हुने लक्ष्य राखिएको थियो तर सङ्घीय सरकारले बजेट पठाउन गरेको ढिलाइ, निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोनाकाल, आयोजना क्षेत्रमा वन क्षेत्र पर्दा रुख कटानमा भएको ढिलाइ र पुल, ढल निकासलगायतले काम गर्न आइपरेको विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भएको हो । 

सैनामैना ढल निकास, सडक, फुटपाथ तथा सडक सुधार आयोजना अन्तर्गत एसियाली विकास बैङ्क, नगर विकास कोष र नेपाल सरकारको संयुक्त लगानीमा निर्माणको सुरुवात गरिएको हो ।    

प्रकाशित मिति : ३ बैशाख २०८३ बिहिबार ००:००  ११ : ३१ बजे