काठमाण्डाै ।
गर्मी बढेसँगै देशभर डढेलोको सङ्ख्या पनि बढेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन तथा पहिचान प्रणालीको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशका १५९ ठाउँमा वन डढेलो देखिएको छ ।
धेरैजसो डढेलो तराई क्षेत्रमा देखिएको हो । चितवनको १९, दाङको १७, पर्साको १५, कपिलवस्तुको १४, नवलपुरको ११ र सल्यानको १० ठाउँमा डढेलो देखिएको छ ।
अघिल्लो हप्तासम्म वन डढेलो निकै कम देखिएकोमा यो हप्ता देशका ४२९ ठाउँमा डढेलो पहिचान भइसकेको विभागले जनाएको छ । अघिल्लो हप्ता अर्थात् चैत महिनाको २६ गतेदेखि वैशाख २ गतेसम्म जम्मा ३ ठाउँमा सामान्य डढेलो देखिएकोमा त्यसपछि डढेलो बढेको हो ।
डढेलोसँगै वायु प्रदुषण पनि बढेको छ । वातावरण विभागको प्रदूषण मापन केन्द्रहरूको विवरण अनुसार अहिले काठमाण्डौ उपत्यकासहित मुख्य शहरी क्षेत्रको धेरैजसो ठाउँमा वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ ।
अहिले काठमाण्डौको वायु प्रदूषण मापन सूचक एक्यूआई १७० आसपासमा छ । एक्यूआई १५० भन्दा माथि पुगेमा त्यहाँको हावा सबै वर्गका लागि अस्वस्थ मानिन्छ ।







प्रतिक्रिया