बुटवल।
महेन्द्र राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत पर्ने घमाहाखोला पुल भासिएपछि यात्रुलाई सास्ती भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना अन्तर्गत सोही स्थानमा अर्को नयाँ पुलसमेत निर्माणको क्रममा रहेको छ । करिब ६० वर्ष पुरानो पुल भासिएपछि प्रहरीले यात्रुलाई वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ जान आग्रह गरेको छ ।
बुटवल–गोरुसिङ्गे सडक आयोजनाले पुल मर्मतका लागि तीन दिनदेखि एक सातासम्म लाग्ने भएकाले विकल्पका रूपमा सैनामैना–४, लुम्बिनी रोडको कुस्मा हुँदै बक्सडाँडा भएर सोही ठाउँको केहीअगाडि कलौनी जोड्ने डाइभर्सन बनाएको जनाएको छ । बुटवल–गोरुसिङ्गे सडकखण्ड ५० किलोमिटर सडक विस्तारको काम भइरहेको छ । जसले गर्दा सडकमा यात्रा गर्ने यात्रु र सवारीले सास्ती खेप्दै आएका छन् । सडकमा खाल्टाखुल्टी र अवरोध हुँदा पूर्वबाट पश्चिमतर्फ जाने गाडी बुटवलबाट भैरहवा, लुम्बिनी, तौलिहवा हुँदै गोरुसिङ्गे निस्कने गरेका छन् । पश्चिमबाट पूर्व जाने गाडी गोरुसिङ्गेबाट तौलिहवा, लुम्बिनी, भैरहवा हुँदै पूर्वतर्फ जाने गरेका छन् ।







प्रतिक्रिया