२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

वाणगंगा–९ मा बालश्रम, बालविवाह तथा लागुऔषध दुव्र्यसन विरुद्ध सचेतनामूलक अभिमुखीकरण



बाबुराम रायमाझी,  वाणगंगा ।

वाणगंगा नगरपालिका–९ मा बालश्रम, बालविवाह, लागुऔषध दुव्र्यसन तथा मानव बेचबिखन विरुद्ध सचेतना फैलाउने उद्देश्यले अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।वाणगंगा नगरपालिकाको आयोजना तथा  ईलाका प्रहरी कार्यालय पिपराको समन्वयमा सम्पन्न कार्यक्रममा बालसञ्जाल तथा विभिन्न बालक्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा वाणगंगा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शुसिला पन्थले बालश्रम र बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भविष्यमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराएकी थिइन् । उनले बालअधिकार संरक्षणका लागि अभिभावक, विद्यालय, समुदाय र स्थानीय तह सबै जिम्मेवार बन्नुपर्ने बताइन् ।

उनले कानुनी रूपमा बालविवाह दण्डनीय अपराध भएको उल्लेख गर्दै बालबालिकालाई विद्यालयमैत्री वातावरण सिर्जना गरी उनीहरूको क्षमता विकासमा जोड दिनुपर्ने धारणा राखिन् ।त्यस्तै ईलाका  प्रहरी कार्यालय पिपराका प्रमुख  अर्जुन पौडेलले लागुऔषध दुव्र्यसन र मानव बेचबिखनका घटनाले समाजमा गम्भीर असर पारिरहेको बताए । उनले विशेषगरी किशोरकिशोरीहरूलाई गलत संगत, कुलत तथा सामाजिक सञ्जालको दुरुपयोगबाट सचेत रहन आग्रह गरेका थिए ।

प्रमुख पौडेलले मानव बेचबिखनका विभिन्न स्वरूपबारे जानकारी दिँदै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरे । उनले सुरक्षित समाज निर्माणका लागि समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेको बताए ।कार्यक्रममा सहभागी बालसञ्जाल तथा बालक्लबका सदस्यहरूले बालअधिकार, बालसुरक्षा तथा सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउन आफूहरू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण भगवती आचार्य शर्मा र बाबुराम रायमाझी गरेका थिए । कार्यक्रममा बालबालिकाहरूलाई विभिन्न सामाजिक विकृति, कानुनी व्यवस्था तथा सचेतनासम्बन्धी जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८३ शनिबार ००:००  ७ : ५९ बजे