बाणगंगा।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले उपभोक्ता हक अधिकार तथा व्यवसायलाई व्यवस्थित बनाउन बजार अनुगमन गरेको छ । नेपाल सरकारले महंगी नियन्त्रण, खाद्य स्वच्छता लगाएतकाे विषयमा साताव्यापी रूपमा बजार अनुगमन कार्यलाई प्राथमिकता दिएकोले नगरपालिकाले पनि बजार अनुगमन शुरु गरेको हो ।
मंगलबार नगरपालिकाको मुख्य बजार चारनम्बर जीतपुरमा रहेका विभिन्न पसल तथा व्यवसायको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा केही व्यवसायीले नगरपालिकामा व्यवसाय दर्ता नगरेको, अधिकांश पसलमा मूल्यसूची नराखिएको तथा खरिद–बिक्रीको बिल प्रयोग नगरेको र सरसफाइ नभएकाे पाइएको टोलीले जनाएको छ । केही मासुजन्य व्यवसायको विक्री वितरण मापदण्ड विपरित रहेकाले तत्काल सुधार गर्नुपर्ने पत्र दिएर एकसाताको समय दिएको नगरपालिकाले जनाएको छ । मासु पसलहरूमा आवश्यक सरसफाइको कमी देखिएको भन्दै सम्बन्धित व्यवसायीलाई एक साताभित्र उचित व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।
अनुगमनपछि नगरप्रमुख चक्रपाणी अर्यालले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजारलाई व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले व्यवसाय सञ्चालन गर्दा कानुनी प्रक्रिया पूरा गर्न, मूल्यसूची अनिवार्य राख्न तथा उपभोक्तालाई बिल उपलब्ध गराउन सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।
“उपभोक्ताको हकहितलाई मध्य नजर गरेर बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन नगरपालिका प्रतिबद्ध छ,” नगरप्रमुख अर्यालले भन्नुभयो, “नियम विपरीत सञ्चालन भएका व्यवसायलाई सुधारका लागि समय दिएका छौं, अटेर गरे कानुन अनुसार कारबाही हुन्छ ।”
उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक रिता कुमारी चौधरीले उपभोक्ताले गुणस्तरीय सेवा पाउनुपर्ने भएकाले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो । उहाँले विशेषगरी खाद्य तथा मासु पसलमा सरसफाइ, मापदण्ड र मूल्य पारदर्शितामा ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा व्यवसायीले बजार फोहोरमैला नियमित रुपमा व्यवस्थापन गर्न नगरपालिकालाई अनुरोध गरेका थिए भने सवै व्यवसायीलाई नगरपालिकाको दायरामा ल्याउन माग गरेका थिए ।
अनुगमनमा नगरप्रमुख, उपप्रमुख, कर्मचारी, सुरक्षाकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो । नगरपालिकाले आगामी दिनमा बजार अनुगमनलाई निरन्तरता दिने राजश्व शाखा प्रमुख मदन घिमिरेले जानकारी दिनुभयाे ।







प्रतिक्रिया