१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

एसईई पालिकागत नतिजा समिक्षा : वाणगंगा अगाडि



हरि अधिकारी, कपिलवस्तु ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा अनुसार कपिलवस्तु जिल्लामा कुल ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो नतिजा राष्ट्रिय औसत ६५.९८ प्रतिशतभन्दा उल्लेख्य रूपमा कम हो। यद्यपि, जिल्लाभित्र केही पालिकाहरूले भने अपेक्षाकृत राम्रो गरेका छन्।

यसवर्ष कपिलवस्तुबाट ४ जीपीए ल्याउने कुल ११ जना विद्यार्थीमध्ये ९ जना वाणगंगा नगरपालिकाका रहेका छन्। वाणगंगास्थित ज्ञानज्योती शिक्षा सदन बैदौलीबाट ३ जना, महेन्द्र माध्यमिक विद्यालय कोपवाबाट ३ जना, बाणगंगा मावि लौगाईबाट १ जना, लक्ष्मणघाट माविबाट १ जना र हथौसा लिटिल स्टार इङ्लिश बोर्डिङ स्कूलबाट १ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्। बाँकी २ जनामध्ये बुद्धपद्म मावि, तौलिहवाबाट १ जना र शुद्धोधन गाउँपालिकाको सनलाईट इङ्लिश बोर्डिङ स्कूल, बगदीबाट १ जना रहेका छन्।

जिल्लाका १० वटा स्थानीय तहहरूमध्ये वाणगंगा नगरपालिकाले सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको छ। वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख रोशन घिमिरेका अनुसार नगरपालिकाले ६७.५० प्रतिशत नतिजा हासिल गर्दै राष्ट्रिय औसतभन्दा माथि उक्लिएको छ।

त्यस्तै, अन्य पालिकाहरूको नतिजा क्रमशः यस प्रकार रहेको छ । जसमा बुद्धभूमि नगरपालिका ४९.३९ प्रतिशत, शिवराज नगरपालिका ४५.०२ प्रतिशत, महाराजगंज नगरपालिका ४२.२९ प्रतिशत, यशोधरा गाउँपालिका ४०.९९ प्रतिशत, विजयनगर गाउँपालिका ४०.३५ प्रतिशत, कपिलवस्तु नगरपालिका ४०.०३ प्रतिशत, कृष्णनगर नगरपालिका ३८.२७ प्रतिशत र मायादेवी गाउँपालिका ३६.१४ प्रतिशत।

सबैभन्दा कमजोर नतिजा शुद्धोधन गाउँपालिकाको रहेको छ, जहाँ केवल ३१.४९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। नगरपालिका तर्फ भने कृष्णनगर नगरपालिका सबैभन्दा कमजोर सावित भएको छ।

यस वर्षको एसईई परीक्षा कपिलवस्तुमा विगतका वर्षहरूभन्दा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन भएको सम्बन्धित निकायले जनाएको छ। तर, नतिजाले भने अझै पनि शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने चुनौती देखाएको छ।

विशेषतः अधिकांश पालिकाहरूमा ५० प्रतिशतभन्दा कम नतिजा आउनुले शिक्षण–सिकाइ प्रक्रिया, स्रोत व्यवस्थापन र विद्यार्थी केन्द्रित कार्यक्रमहरूमा थप सुधारको आवश्यकता रहेको स्पष्ट संकेत गरेको छ। जिल्लामा शिक्षा क्षेत्रमा लगानी, शिक्षक क्षमता विकास तथा अभिभावक–विद्यालय सहकार्यलाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकता देखिएको सरोकारवालाहरूले बताएका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०८३ शुक्रबार ००:००  १२ : ३९ बजे