२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

वाणगंगाको रक्तसञ्चार सेवा केन्द्र २ वर्ष पुरा : २ हजार युनिट रगत वितरण



कपिलवस्तु — नेपाल रेडक्रस सोसाइटी, वाणगंगा शाखाले सञ्चालनमा ल्याएको रक्तसञ्चार सेवा केन्द्रले दुई वर्ष पूरा गरेको छ। नेपाल रेडक्रस सोसाइटी, वाणगंगा शाखाका सभापति शंकर पाण्डेले सेवा केन्द्र स्थापना भएयता दुई वर्षमा २ हजार युनिट रगत संकलन तथा वितरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार वाणगंगा–४ स्थित रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंक मार्फत वाणगंगा नगरपालिकासहित कपिलवस्तु र जिल्ला बाहिरसम्म पनि सेवा विस्तार गरिएको छ।

उहाँले संकलित रगतलाई आवश्यक परीक्षणपछि सुरक्षित रूपमा बिरामीहरूलाई उपलब्ध गराइँदै आएको उल्लेख गर्दै हालसम्म रगत खेर जान नदिएकाे र अभावसमेत नदेखिएको बताउनुभयो। ब्लड वैंक मार्फत आवश्यकता अनुसार विभिन्न निकायसँग समन्वय गरी नियमित रूपमा रगत संकलन गरिँदै आएको उहाँको भनाइ छ।

सभापति पाण्डेले रक्तदान कार्यक्रम आयोजना गरेकोमा बैरिया युवा समाजप्रति आभार व्यक्त गर्दै आवश्यक परेको बेला रक्तदान गर्नु ठूलो सामाजिक योगदान भएको धारणा राख्नुभयो। साथै, सेवा केन्द्रका प्राविधिक टोली, नियमित रक्तदाता तथा सहयोगी संघसंस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

सोही अवसरमा बैरिया युवा समाज, वाणगंगा–१ को आयोजनामा दुर्गा मन्दिर, बैरिया परिसरमा अायाेजना भएकाे रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएकाे छ । मानवीय सेवाको भावनालाई केन्द्रमा राख्दै “रक्तदान जीवनदान” भन्ने मूल सन्देशका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमकै अवसरमा सेवा केन्द्र स्थापना भएको दुई वर्ष पूरा भएको खुशीयालीमा मिठाई वितरण गरिएको थियो। कार्यक्रममा शाखाका कोषाध्यक्ष कृष्णदेव चौधरी, सचिव कृष्ण अधिकारीलगायतको सहभागिता रहेको थियो। रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले केन्द्रले निरन्तर सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८३ शनिबार ००:००  २ : ५० बजे