५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुद्वारा निःशुल्क आँखा शिविर सम्पन्न



डिलाराम भुसाल, कपिलवस्तु ।

रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको आयोजना तथा भैरव चश्मा पसल एवं आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा जनचेतना आधारभूत विद्यालय वनगाईमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा करिब दुई सयभन्दा बढीको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ। शिविरमा सहभागीहरूको आँखा परीक्षणसँगै आवश्यक परामर्श तथा उपचार सम्बन्धी सुझाव समेत प्रदान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनालले कार्यक्रमले विद्यार्थी तथा स्थानीय समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो।

क्लवका अध्यक्ष गोपाल प्रसाद खनाल ले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। उहाँले समयमै आँखा परीक्षण र उपचार गर्न सके धेरै समस्याबाट बच्न सकिने उल्लेख गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक देबेन्द्र बहादुर थापाले ग्रामीण क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले ठूलो राहत पुग्ने बताउँदै विद्यालयमै विशेषज्ञसहितको सेवा आउँदा विद्यार्थी, शिक्षक तथा अभिभावक लाभान्वित भएको बताउनुभयो।

कार्यक्रममा क्लवका सचिव बेदुराम पाख्रेल, एड्मिन नवीन भुसाल, नोमिनी प्रेसिडेन्ट कृष्ण प्रसाद भट्टराई, सदस्यहरू सन्देश कक्षपति, नारायण बेल्वासे, विजयशंकर बिक, झलक रायमाझी तथा निवर्तमान अध्यक्ष ज्ञानहरी न्यौपाने लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८३ मंगलबार ००:००  ४ : ५९ बजे