नेपालगन्ज, असार ११ गते । मुस्लिम समुदायको मोहर्रम पर्व विविध कार्यक्रमका साथ नेपालगन्जमा मनाइँदैछ । इस्लामी नयाँ बर्ष १४४८ हिजरीको शुरुवातसँगै मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विविध कार्यक्रमहरु गरी मनाइन्छ ।
सोहीक्रममा नेपालगन्ज र सो आसपासको क्षेत्रमा दैनिक रातिको समयमा विभिन्न कार्यक्रमहरु जुलुस, जल्सा तथा फातिहा गरेर गत आठ दिनदेखि यहाँ मोहर्रमलाई मनाइँदैआएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईले बताउनुभयो ।
उहाँले इराकको कर्बलामा सहिद हुनुभएका पैगम्बर हजरत मोहम्मदका नातीहरु हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरुले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउने गर्छन् ।
मोहरर्रम महिनाको १ तारिखदेखि १० तारिखसम्म विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा छ । सोहीक्रममा मोहर्रमको ५ तारिखमा ढोल मिलान, ६ तारीखमा राति मेहंदी जुलुस, ७ तारिखमा अलम जुलुस र ८ तारिखमा आगोको मातम र जन्जीरको मातम गरिएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले जनाएको छ ।
नौ तारिखमा विहीबार राति कागज र काठले निर्माण गरिएको ताजियालाई आफ्नो घर अगाडि स्थापित गरेर समुदाय रातभरी जाग्राम बस्नेछन् भने मोहर्रमको अन्तिम दिन दस तारिखमा शुक्रवार दिउसोपछि स्थानीय फुलटेक्रामा रहेको कर्बलामा बाजागाजासहित लिएर गएका ताजिया विसर्जन गरेर सो पर्व सम्पन्न गरिनेछ ।
नेपालगन्जका मुस्लिमहरुले मोहर्रम पर्वको अवसरमा सार्वजनिक विदाको माग सरकारसँग गरेका छन् । स्थानीय मुस्लिम धर्मगुरु तथा अगुवा मौलाना अब्दुल जव्वार मन्जरीले सरकारले मोहर्रममा विदा नदिएर समुदायलाई उपेक्षा गरेको बताउनुभयो ।













प्रतिक्रिया