मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवस्थित श्रीङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्षमा वन संरक्षणसँगै स्थानीय पूर्वाधार विकासमा समेत उल्लेखनीय काम गरेको जनाएको छ ।
वनबाट प्राप्त आम्दानीलाई समुदायको हितमा उपयोग गर्ने उद्देश्यले विभिन्न बस्तीमा कुलो, सामुदायिक भवन, कल्भर्ड तथा सार्वजनिक संरचना निर्माण गरिएका हुन् । यो वनमा बाणगंगा नगरपालिकाको वडा नं. १, ३, ४ र ५ का उपभोक्ता आवद्ध छन् ।
समूहका अनुसार डुङ्गा कुलो निर्माण, ठाटी सामुदायिक भवन तथा कुलो निर्माण, कुवेरापुर कुलो निर्माण, जीतपुरको अधुरो सामुदायिक भवनमा रङ्गरोगण, मधौलिया नाला तथा कुलो निर्माण, चम्कीपुर कुलो निर्माण, उप्टहवाको अधुरो सामुदायिक भवन निर्माण, हरिहरपुरको अधुरो सामुदायिक भवन तथा कुलो निर्माण, बुङची उपसमिति अन्तर्गत कुलो निर्माण, गजेहडा–१ मटेना कुलो निर्माण, गजेहडा–२ वसिया कुलो निर्माण, ठाकुरापुर–खुटियाना कुलो तथा कल्भर्ड निर्माणलगायतका योजना सम्पन्न भएका छन् ।
त्यस्तै, तौलिहवा गेट क्षेत्रमा डिजिटल सूचना बोर्ड निर्माण गरिएको छ भने लक्ष्मणघाटमा दाहसंस्कार व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण गरी स्थानीयलाई सुविधा उपलब्ध गराइएको समूहले जनाएको छ ।
सामुदायिक वनका अध्यक्ष सुशील सिंह ठकुरीले वनको आम्दानीलाई केवल वन व्यवस्थापनमा सीमित नगरी समुदायको आवश्यकता अनुसार विकास निर्माणका क्षेत्रमा पनि लगानी गरिएको बताए । “सामुदायिक वनले उपभोक्ताको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न बस्तीमा आवश्यक पूर्वाधार निर्माण गरेको छ । यसले कृषिमा सहजता, सामाजिक गतिविधिमा सहयोग तथा स्थानीयस्तरमा सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ,” उनले भने ।
समूहकी सचिव सुष्मा खाँणले सामुदायिक वनलाई स्थानीय विकासको साझेदार संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गरिएको बताइन् । “वन संरक्षणसँगै समुदायको आवश्यकता पहिचान गरी योजना छनोट गरेका छौं । निर्माण गरिएका पूर्वाधारले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको छ,” उनले भनिन् । आगामी दिनमा पनि पारदर्शी र आवश्यकतामा आधारित कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।
स्थानीय बासिन्दा विष्णु पौडेलले सामुदायिक वनले निर्माण गरेका कुलो र सार्वजनिक संरचनाबाट किसान तथा सर्वसाधारण लाभान्वित भएको बताए । “पहिले सिँचाइ र आवतजावतमा समस्या थियो । अहिले कुलो निर्माण भएपछि खेतीपातीमा सहज भएको छ । सामुदायिक भवनहरू पनि गाउँका विभिन्न कार्यक्रम सञ्चालन गर्न उपयोगी बनेका छन्,” उनले भने ।
अर्का स्थानीय सीता थारुले सामुदायिक वनले वन संरक्षणसँगै विकास निर्माणमा गरेको लगानी उदाहरणीय रहेको बताइन् । “वनको आम्दानी समुदायमै खर्च हुँदा नागरिकले प्रत्यक्ष लाभ पाएका छन् । यस्तो कामलाई निरन्तरता दिनुपर्छ,” उनले प्रतिक्रिया दिइन् ।
स्थानीयका अनुसार श्रीङ्गीघाट सामुदायिक वनले पछिल्ला वर्षहरूमा वन संरक्षणका साथै विकास निर्माणका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । वनको आम्दानीलाई समुदायमुखी योजनामा लगानी गर्ने अभ्यासले सामुदायिक वनप्रति उपभोक्ताको विश्वास समेत बढाएको छ ।













प्रतिक्रिया