मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रीङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्षमा वन विकास, संरक्षण, संवद्र्धन तथा वन स्रोतको सदुपयोगका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम प्रभावकारी देखिएका छन् ।
समूहका अध्यक्ष सुशील सिंह ठकुरीले वनको दिगो व्यवस्थापनलाई केन्द्रमा राखेर वार्षिक कार्ययोजनाअनुसार विभिन्न कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । उनका अनुसार वन संरक्षणसँगै वनको गुणस्तर सुधार, प्राकृतिक पुनरुत्पादन र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना कार्यान्वयन गरिएको हो ।
चालु आर्थिक वर्षमा वन क्षेत्रमा दुई चरणमा झाडी सरसफाइ गरिएको छ । वनको सुरक्षा सुदृढ बनाउन आवश्यक स्थानमा जाली निर्माण गरिएको छ भने पुनरोपण गरिएका क्षेत्रमा झाडी सरसफाइ गरी बिरुवाको संरक्षण गरिएको अध्यक्ष ठकुरीले बताए ।
त्यस्तै, प्राकृतिक पुनरुत्पादन व्यवस्थापन, ढलापडा रुख तथा फायरलाइन क्षेत्रमा रहेका रुखको छपान तथा संकलन, वन क्षेत्रको सिमाना निर्माण, नर्सरी स्थापना तथा फलफूलका बिरुवा खरिद–वितरणलगायतका कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए ।
समूहकी सचिव सुष्मा खाँणले वन संरक्षणका कार्यक्रम समुदायको सक्रिय सहभागितामा सञ्चालन भएकाले अपेक्षाअनुसार उपलब्धि हासिल भएको बताइन् । उनले उपभोक्ताहरूको साथ, सहयोग र सहभागिताले वन संरक्षणका अभियानलाई थप प्रभावकारी बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि पारदर्शी, सहभागितामूलक र दिगो वन व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिने बताइन् ।
अध्यक्ष ठकुरीले सामुदायिक वनलाई केवल काठ–दाउराको स्रोतका रूपमा नभई वातावरण संरक्षण, जैविक विविधताको संवद्र्धन र स्थानीय समुदायको समृद्धिसँग जोडेर अघि बढाइएको बताए । “वनको संरक्षण र व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिताका कारण यस वर्ष सञ्चालन भएका कार्यक्रम प्रभावकारी बनेका छन्,“ उनले भने ।
समूहका पदाधिकारीका अनुसार आगामी वर्षहरूमा पनि वन संरक्षण, वैज्ञानिक वन व्यवस्थापन, हरियाली प्रवद्र्धन तथा उपभोक्ताको आयआर्जनसँग जोडिएका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइनेछ ।













प्रतिक्रिया