१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

बालश्रममुक्त घोषणापछि कपिलवस्तुका दुई नगरपालिका राष्ट्रिय स्तरमा सम्मानित



कपिलवस्तु ।

जिल्लाका दुई स्थानीय तहले नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालयबाट सम्मान प्राप्त गरेका छन्। बालश्रममुक्त स्थानीय तह घोषणा गर्न सफल भएको भन्दै मन्त्रालयले वाणगंगा र बुद्धभूमि नगरपालिकालाई सम्मान गरेको हो।

बालबालिकाको सर्वोत्तम हित, सुरक्षित भविष्य तथा सम्मानजनक जीवन सुनिश्चित गर्न बालश्रम अन्त्य गर्ने राष्ट्रिय अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेको भन्दै सम्मान प्रदान गरिएको मन्त्रालयका सचिव डा. दीपक काफ्लेले जानकारी दिनुभयो।

बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ बमोजिम निर्धारित सबै सूचकहरू पूरा गरेपछि मन्त्रालयले दुवै नगरपालिकालाई सम्मान–पत्र प्रदान गरेको हो।

सम्मान ग्रहणपछि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल र बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले यस सम्मानले आफ्नो पालिकाको राष्ट्रिय पहिचान स्थापित गर्न सहयोग पुगेको बताउँदै आगामी दिनमा बालश्रममुक्त अवस्थाको दिगोपना कायम राख्न अझ बढी जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्मान–पत्रमा बालश्रममुक्त अवस्थाको दिगोपना कायम राख्दै बालमैत्री समाज निर्माणमा नगरपालिकाले निरन्तर अग्रसर रहने विश्वास व्यक्त गरिएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको उपस्थितिमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा कपिलवस्तु सहित अन्य केही पालिकालाइ सम्मान गरिएको थियो।

यस सम्मानसँगै वाणगंगा र बुद्धभूमि नगरपालिकाले बालअधिकार संरक्षण, बालश्रम न्यूनीकरण तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा गरेको प्रयासले राष्ट्रिय स्तरमा थप पहिचान र सम्मान प्राप्त गरेको छ।

प्रकाशित मिति : १८ असार २०८३ बिहिबार ००:००  ८ : ३१ बजे