कपिलवस्तु ।
कपिलवस्तुको श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शारीरिक तथा मानसिक अशक्तता भएका आफ्ना उपभोक्ताहरूलाई सम्मान तथा सहयोग गरेको छ। वन समूहले समुदायमा रहेका विपन्न तथा विशेष आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्दै समावेशी समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमअन्तर्गत शारीरिक तथा मानसिक अशक्तता भएका उपभोक्ताहरूलाई सम्मान गर्नुका साथै उनीहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने सामग्री तथा आवश्यक सहयोग प्रदान गरिएको समूहले जनाएको छ। वनबाट प्राप्त आम्दानीलाई केवल वन संरक्षण र व्यवस्थापनमा मात्र सीमित नराखी सामाजिक तथा मानवीय क्षेत्रमा समेत परिचालन गर्दै आएको समूहले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष सुशील सिंह ठकुरीले समाजका सबै नागरिक सम्मान र अवसरका हकदार भएकाले अशक्तता भएका व्यक्तिहरूलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताउनुभयो। उहाँले वन उपभोक्ता समूहले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदै समुदायको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीयवासीले वन समूहले वन संरक्षणसँगै सामाजिक क्षेत्रमा समेत देखाएको सक्रियताको प्रशंसा गरेका छन्। समुदायका कमजोर, अशक्त तथा विपन्न वर्गलाई सहयोग गर्ने यस्ता कार्यक्रमले सामाजिक सद्भाव, आत्मीयता र समावेशी विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले विगतदेखि नै वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, वातावरण संरक्षण तथा समुदायमुखी सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।











प्रतिक्रिया